आजका मुख्य समाचारमा
नेकपा माओवादी केन्द्रले सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले तत्काल वार्ता अगाडि बढाउने निर्णय गरेको हाे ।
नेपाली कांग्रेस नेता नविन्द्रराज जोशीलाई फेरि भेन्टिलेटरमा राखिएको छ । मस्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता जोशीलाई शनिबारदेखि फेरि भेन्टिलेटरमा राखिएको हो ।
सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताउने गरी निर्णय गरेपछि नेपालको राजनीतिक वातावरण नसोचेको दिशामा अगाडि बढेको छ ।
बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मंगलबार बिहान १९ बर्षिय रोहित शर्माको घरभित्रै हत्या भएको हो ।
दैलेखमा एक आमाले ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । दैलेखको आठबिस नगरपालिका– ३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले आफ्ना ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।
कैलालीको गोदावरी नगरपालिका—५ गेटा गाउँमा सञ्चालित केएस कन्सट्रक्शनमा भएको आगलागीबाट झण्डै रु एक करोड बराबरको मालसामान जलेर नष्ट भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ ।
यस वर्षको महाशिवरात्रिको प्रचारप्रसारका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालिएको छ ।
नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको ८० वर्षका उमेरमा निधन भएको छ । बेनी नगरपालिका–८ सङ्गमचोक निवासी उहाँको काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौंँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको छ ।
अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सुरक्षाफौजले गरेको कारबाहीमा २१ जना तालिबान लडाकू मारिनुको साथै अन्य १३ जना घाइते भएका छन् ।
चीनको औषधि निर्माता फर्म सिनोभ्याकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप “कोरोनाभ्याक” को पाँचौं खेप चिली आइपुगेको छ । चिली सरकारलाई उक्त खोप हस्तान्तरण गरिएको छ ।
नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक सय रुपैयाँले बढेर कारोबार भएको छापावाल सुनको भाउ मंगलबार आरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिनुभएको छ ।