२५ फागुन, काठमाण्डौ। सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताउने गरी निर्णय गरेपछि नेपालको राजनीतिक वातावरण नसोचेको दिशामा अगाडि बढेको छ । प्रतिनिधिसभा पुनस्थापना भएपछि विकसित राजनीतिक प्रकृया नै केही समय अवरुद्ध भएको छ ।
नयाँ परिस्थितिलाई नेकपा एमालेका नेताहरुले मन भारी बनाएरै भएपनि स्वीकारेका छन् । आजबाट नेकपा एमालेमै माधवकुमार नेपाल,झलनाथ खनाल लगायतका असन्तुष्ट नेता फर्किएका छन् । तर नेकपा माओवादी केन्द्रबाट निर्वाचित नेताहरु भने ओली क्याम्प छाड्न आनाकानी गरिरहेका छन् ।
तैपनि अब राजनीतिले नयाँ कोर्स लिने देखिएको छ । त्यसैलाई सार्थक तुल्याउन अहिले नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । उसले ओली सरकारलाई दिइरहेको समर्थन यथाबत गर्ने कि फिर्ता गर्ने भन्ने सन्दर्भमा आजै टुंग्याउने सम्भावना छ । साथै, विकसित पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा पनि समीक्षा गर्ने अजेण्डा रहेकोछ ।
उता, संसद चौथो हैसियतमा रहेको जनता समाजबादी दलले पनि आजै संसदीय दलको बैठक डाकेको छ । बैठकले लिने निर्णयबाट ओली सरकारको भविष्य निर्धारण हुने अवस्था रहेको छ । किनभने एमालेमा रुपमान्तरित ओलीको पार्टीलाई जसपा एउटाको मात्रै सहयोग जुुट्यो भने पनि सरकार यथावत रहन सक्छ । तर ओलीले गरेको विघटनलाई प्रतिगमन भनेर सडकमै गएको जसपाले तत्कालै ओलीलाई साथ र समर्थन गर्ने सम्भावना देखिंदैन ।
त्यसैले उसले गर्ने निर्णय पनि ओली सरकारविरुद्धको मोर्चाबन्दीमै केन्द्रित हुन सक्ने देखिएकोछ । आज पार्टी एकीकरणपछि हुन लागेको पहिलो संसदीय दलको बैठक हो । त्यसैले पहिला त संसदीय दलको नेता चुन्ने काम आइपरेको छ । यसका लागि महन्थ ठाकुर र उपेन्द्र यादवको प्रमुख दावेदारी रहेको छ । तर अर्का नेता राजेन्द्र महतोले समेत संसदीय दलको नेतामा दावा पेश गरेका छन् ।
यसको छिनोफानो लगाएर सम्भवतः आजै जसपाले पनि ओली सरकारप्रतिको दृष्टिकोण प्रष्ट्याउने छ । ठाकुर लगायत केही नेता ओलीप्रति नरम देखिएका छन् भने यादव र डा. बाबुराम भट्टराई लगायतका नेताहरु आक्रोशित छन् । तर ओलीलाई प्रतिगमनकारी नै भन्ने शव्दावलि प्रयोग गरिसकेको पार्टीले तत्कालै समर्थन गर्न नसक्ने अवस्था रहेको अनुमान गर्न सकिन्छ । जहाँसम्म कांग्रेसको कुरा छ – अहिले पनि घटनाक्रम नियालीरहेको देखिन्छ ।
राजनीतिक दलहरुले गर्ने निर्णयलाई आधार बनाएर मात्रै ठोस धारणा बनाउने पक्षमा कांग्रेस देखिएको छ । तर ओली सरकारविरुद्धको जनमतलाई ध्यान दिएर कांग्रेसले नै बैकल्पिक सरकार निर्माणको पहल गर्नैपर्ने हुन्छ । यी तीनवटै दलबीच सहकार्य गर्ने अवस्था आउँदा मात्रै वैकल्पिक सरकार दिन सक्ने हुन्छ । नत्र ओली अब संविधानको धारा ७६(२) बाट ७६(३) अर्थात, अल्पमतको सरकार बनाउने अवस्थामा पुग्न सक्छन् ।











