नेपाली कांग्रेस र जसपासँग तत्काल वार्ता गर्ने नेकपा माओवादी केन्द्रको निर्णय

२५ फागुन, काठमाण्डौ। नेकपा माओवादी केन्द्रले सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले तत्काल वार्ता अगाडि बढाउने निर्णय गरेको हाे ।

मंगलबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपा एमालेसँग पनि वार्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार बुधबार दिउँसो पनि स्थायी कमिटी बैठक बस्ने छ। आजको बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको श्रेष्ठले जानकारी दिए।

सर्वाेच्च अदालतले ब्यूँताएपछि आज औपचारिक रुपमा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वर्तमान सरकारको विकल्प खोज्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीविरुद्ध सडक संघर्षमा होमिएको माओवादी केन्द्रले अब विकल्प खोज्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग औपचारिक वार्ता गर्ने भएको छ ।

ओली सरकारको औचित्य सकिएको ठहर सम्पूर्ण देशले गरेकाले अब विकल्पमा नयाँ सरकार गठन गर्नुपर्ने अवस्था रहेको पनि उनले प्रष्ट्याए ।जसपा संसदीय दलको बैठक पनि अहिले बसिरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पछिल्लो परिस्थितिको आँकलन गरेर अगाडि बढ्ने तयारीमा रहेको छ ।

[sidebar name="button post"]