२५ फागुन, दैलेख। दैलेखमा एक आमाले ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । दैलेखको आठबिस नगरपालिका– ३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले आफ्ना ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।
सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन उनले कर्णालीमा हाम फालेकी हुन् । उनले घरायसी तनावका कारण आफ्ना चारवटै सन्तानसहित नदीमा हाम फालेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नदीमा हाम फालेका मध्ये २ छोरीको शव भने भेटिएको छ । आमा र अन्य २ जना छोराछोरीको शव भने पत्ता लागेको छैन ।
बडुवालकी छोरीहरु १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेववल विनायक नगरपालिका– ४ मा नदीमै फेला परेको हो । प्रहरीका अनुसार सा स्थानमा कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा अल्झिएको अवस्थामा उनीहरुको शव भेटिएको हो । १० वर्षीय छोरा ललित बडुवाल र ५ वर्षीया छोरी रजनी बडुवालको शव भने भेटिएको छैन । आमासहित उनीहरुको शवको कर्णाली नदीमा खोजी भैरहेको जनाइएको छ ।
स्थानीयले हामफालेको बताए पनि प्रहरीले भने घटनालाई शंकास्पद ठहर गरेको छ । हाम फालेकी महिलाका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ ।











