आजका मुख्य समाचारमा
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने भएका छन् । आगामी जनवरी १४ अर्थात पुष ३० गतेदेखि मन्त्री ज्ञवाली भारत भ्रमणमा जान लागेका हुन् । नेपाल भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली जान लागेका हुन् ।
संसद पुनर्स्थापना नभएसम्म संघर्ष कायम : नारायणकाजी श्रेष्ठ
नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको आधार बाँकी रहेको भन्दै आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुरिरहेको बताएका छन् । ओली समूहका नेताहरुलाई संगठनबाट नहटाउनुको कारण सच्चिएर आउने अवसर भएको भन्दै श्रेष्ठले ओली समूहमा रहेका नेताहरुलाई रुपान्तरणका लागि अवसर भएको पनि दाबी गरे ।
आज कति थपिए नेपालमा कोरोना संक्रमित ?
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ। मंगलबार ५७८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ।
वृद्धालाई निकालियो ज्येष्ठ नागरिक आश्रमबाट
म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रमबाट एक वृद्धालाई निकालिएको घटना बाहिर आएको छ । लामो समयदेखि आश्रममा बस्दै आउनुभएकी पर्वतको जलजला गाउँपालिका–७ की ७९ वर्षीया पार्वती पौडेललाई आश्रमबाट निकालिएको हो ।
नेपाली सेनाकाे विभिन्न ११ पदमा भर्ना खुल्याे
नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना खुल्ला गरेको हो ।
अनेरास्ववियुद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको घोषणा
नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । प्रचण्ड–माधव पक्षको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी दोस्रो चरणको आन्दोलनको कार्यक्रमहरू घोषणा गरेको हो ।
घरायसी विवादमा श्रीमतीको हत्या
देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ । मंगलबार बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिएको छ ।
पाशुपत क्षेत्रका ४७ सम्पदा पुनःनिर्माण सम्पन्न
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पाशुपत क्षेत्रका १८ सत्तल र २९ मन्दिर गरी ४७ सम्पदा पुनःनिर्माण सम्पन्न भएको छ । पाशुपत क्षेत्रका ११ सम्पदाको पुनःनिर्माण चालु रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विश्वरुपा मन्दिर, गौरीघाटलगायत सात सम्पदा निर्माण प्रक्रियामा छन् ।
२४ घण्टा यता नेपालमा कोरोना संक्रमणबाट कति मृत्यु ?
पछिल्लो २४ घण्टा यता नेपालमा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सलमानका भाइविरुद्ध उजुरी दर्ता
बलिउड अभिनेता सलमान खानका भाइ अरबाज खान, सोहेल खान र उनका छोरा निर्वाणविरुद्ध कोरोनाको नियम तोडेको भन्दै ऊजुरी दर्ता भएको छ ।
जनताका लागि ओली घाँडो भएको नेपालकाे टिप्पणी
नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली घाँडो भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको घाँटी अठ्याएर हत्या गर्ने प्रयास गरिरहेकाले उनी आाफू र जनताका लागि घाँडो भएको टिप्पणी गरेका हुन् ।
गम्भीर लापरवाही गर्ने वायु सेवा निगमका कर्मचारीलाई कारवाही
नेपाल वायु सेवा निगम ‘नेपाल एयरलाइन्स’ ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौं आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेशिया स्टेशनमा सधैँका लागि जान नपाउने गरी फिर्ता बोलाएको हो ।
आज भारतीय विदेश मन्त्री श्रीलङ्का जाने
भारतका विदेश मामिला मन्त्री डा.एस. जयशंकर श्रीलङ्काको भ्रमणमा जान लाग्नु भएको छ । उहाँ तीन दिने भ्रमणका लागि मंगलबार त्यसतर्फ प्रस्थान गर्नुहुने अधिकारीहरुले जानकारी दिएका छन् ।
पहिलोपटक गुगलमा कर्मचारी युनियन गठन
गुगल तथा यसको मातृ कम्पनी अल्फाबेटमा कार्यरत सयौँ कर्मचारीले कम्पनीको इतिहासमै पहिलोपटक कर्मचारी युनियन गठन गरेका छन् ।
चोरी गर्ने दुई जना मोटरसाइकलसहित नियन्त्रणमा
काठमाडौको नयाँ बजार र बालाजुबाट मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको हो ।
मौरीपालनमा किसानको बढ्दो आकर्षण, यस वर्ष मह उत्पादनमा पनि वृद्धि
यस वर्ष जिल्लामा घरपालुवा मौरीको मह उत्पादनमा वृद्धि भएको छ । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष चार टनले मह उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ । जिल्लाका किसानले ११ हजार १०० मौरीका घारबाट ३८ टन मह उत्पादन भएको कार्यालयले जनाएको छ । गत वर्ष नौ हजार ५०० मौरी घारबाट ३४ टन मह उत्पादन भएको थियो ।
वाग्मती प्रदेशमा चालक अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा खुला
चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षाको लागि अनलाइन फाराम भर्न प्राविधिक समस्या आउँदा सेवाग्राही समस्यामा परेका छन् । यातायात व्यवस्था विभागले अनलाइन फाराम भर्नका लागि सर्भरमा समस्या आएपछि मरमत जारी रहेको र छिट्टै सञ्चालनमा आउने जनाएको छ ।
वायु प्रदुषणका कारण भिजिविलिटी कम, २० मिनेट विमानस्थलको सेवा बन्द
उच्च वायु प्रदुषणका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान र अवतरण प्रभावित भएको छ । वायु प्रदुषणका कारण भिजिविलिटी कम भएपछि २० मिनेट विमानस्थलको सेवा बन्द भएको छ ।
विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न सञ्चारमन्त्रीको निर्देशन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले विज्ञापनसम्बन्धी अर्बौंको बजेट सदुपयोग हुने गरी काम गर्न बोर्डका पदाधिकारीलाई निर्देशन दिनुभएको हो ।
देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने
पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएको छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ ।
मोटरसाइकलले ठक्कर दिँदा हरिणको घटनास्थलमै मृत्यु
बारामा कारको ठक्करबाट बाघको मृत्यु भएको एक हप्ता नबित्दै सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ । बारामा कारको ठक्करबाट बाग्मती नगरपालिका ३ स्थित नयाँरोड–बरहथवा सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प।४००९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा हरिणको घटनास्थलमै मृत्यु भएको हो ।
साझा प्रकाशन : आजदेखि सञ्चालक समितिका अध्यक्षमा निर्वाचन शुरु
साझा प्रकाशनको यही पुस २५ गते तय गरिएको २४ औँ साधारणसभा अन्तर्गत आजदेखि सञ्चालक समितिका अध्यक्षमा निर्वाचन शुरु भएको छ । अध्यक्षसहित तीन सञ्चालक सदस्यका लागि निर्वाचन प्रक्रिया शुरु भएकामा तीन सदस्य निर्विरोध चयन भएकाले अध्यक्षमा मात्र निर्वाचन हुन लागेको हो ।
पर्यटकीयस्थल खप्तड घुम्न हेलिकप्टर प्याकेजको व्यवस्था
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो ।
मासिँदै छ सुन्तला : सरकारी क्षेत्रले चासो नदिँदा चिन्तित छन् किसान
सुन्तलामा अज्ञात रोगले आक्रमण गरेपछि किसान अन्योलमा परेका छन् । रोग देखापरेपछि उपचार विधि पत्ता नलाग्दा कतिपय किसानले वैकल्पिक खेती थालेका छन् । विगतका वर्षदेखि नै रोगले आक्रमण गरे पनि यस वर्ष भने रोगले उत्पादन आधा घटाएको छ ।
शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक
सरकारले शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरेको हो ।
ओलीले पुस २४ धनगढीकाे बृहत जनसभालाई सम्बोधन गर्ने
नेपाल कम्युनिस्ट पार्टी नेकपा ‘ओली समूह’ले पुस २४ गते ‘शुक्रबार’ धनगढीमा बृहत जनसभा गर्ने भएको छ ।नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी तीव्र भएको जानकारी दिए ।
जथाभाबी राखिएका तारहरु हटाउन नगरपालिकाको निर्देशन
जथाभावी राखिएका तारहरु सात दिनभित्र हटाउन चन्द्रागिरी नगरपालिका निर्देशन दिएको छ । नगरपालिकासँग अनुमति नै नलिएर कलंकी-नागढुंगा-पिपलामोड राजमार्गमा टेलिफोन, केबल र इन्टरनेटका तार, ब्यानर पोष्टरहरु जथाभाबी टाँसेको पाएइकाले सात दिनभित्र हटाउन निर्देशन दिइएको नगरपालिकाले सूचनामार्फत जनाएको छ
कोरोना भाइरसको असर सबैभन्दा बढी प्रदेश सरकारमा
कोरोना भाइरसको असर विकास निर्माण र कृषि क्षेत्रमा परेको छ । कोरोना भाइरस नियन्त्रण गर्न विकास बजेट काटेर खर्च गर्ने नीति लिएपछि जनताको सहभागितामा छनोट भएका योजना अलपत्र अवस्थामा छन् । कोरोना भाइरसको असर सबैभन्दा बढी प्रदेश सरकारमा परेको छ ।
आजबाट इंग्ल्याण्डमा फेरि लकडाउन
इंग्ल्याण्डमा फेरि लकडाउन लागु भएको छ। इंग्ल्याण्डका सबै नागरिक घर भित्रै बस्नु पर्ने भएको छ । नयाँ लकडाउन आउँदो फेब्रुअरीको मध्यसम्म कायम रहने सक्ने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् ।












