Ad #144479

२१ पुष, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने भएका छन् । आगामी जनवरी १४ अर्थात पुष ३० गतेदेखि मन्त्री ज्ञवाली भारत भ्रमणमा जान लागेका हुन् । नेपाल भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली जान लागेका हुन् ।

पछिल्लो समय नेपाल–भारत सम्बन्ध सुध्रिएको नेपालका प्रधानमन्त्री केपी ओलीले बताइरहँदा परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण तय भएको हो । यसअघि नै भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगलाले नेपाल भ्रमणका बेला नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका थिए ।

जनवरी १४ मा नयाँदिल्लीस्थित हुने मन्त्रीस्तरीय बैठकमा भारतको वार्ता टोलीको नेतृत्व भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले नेतृत्व गर्ने बताइएको छ । प्रधानमन्त्री केपी ओलीले नेपालको प्रतिनिधिसभा विघटन गरेपछि नेपालको तर्फबाट हुन लागेको यो पहिलो कुटनीतिक भ्रमण हो ।

ज्ञवालीको भारत भ्रमणमा प्रधानमन्त्री ओलीको संसद विघटनको निर्णय र त्यसबाट उत्पन्न नेपाली राजनीति एवं दिल्लीको नजरका विषयमा खास छलफल हुनेछ ।