♦ रमिता दंगाल
२१ पुष, काठमाडौं । काठमाडौं उपत्यकाको वायु अहिलेसम्मै प्रदुषित भएको छ । मंगलबार आजको वायु अहिलसम्मकै दुषित भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रदूषित वातावरणमा सावधानी अपनाएर हिँड्नसमेत आग्रह गरेको छ ।
आईक्यूएयरका अनुसार नेपालको वायु प्रदूषणको तह ४८८ पुगेको जनाए पनि वातावरण विभागले काठमाडौं उपत्यकाको आजको वायुप्रदूषण अहिलेसम्मकै बढी भए पनि सूचाकाङ्क ३०० पुगेको वन तथा वातावरण मन्त्रालयले जनाएकाे छ । अघिल्ला वर्षहरुमा यही समयमा वायु गुणस्तर सूचाकाङ्क १९० मा सिमित हुने थियो । यसवर्ष ह्वात्तै वायुप्रदुषण बढेकाले स्वास्थ्यमा गम्भिर असर पार्न सक्ने अनुमान गरिएकाे छ ।
उपत्यकासँगै तराई क्षेत्रका वायु गुणस्तर सूचाकाङ्कमा अझ वृद्धि भएको छ । काठमाडौं उपत्यका कचैरा आकारको भएकाले यहाँ भित्र भएका प्रदूषित वायु तल्लो तहबाट वायुमण्डलको उपल्लो तहमा उड्न नपाएकाले उपत्यकाको वातावरण प्रदूषित भएको बताइएकाे छ ।
उपत्यकामा सबैभन्दा बढि वायुप्रदुषण यातायातको साधनले बनाउने भएकाले अनावश्यक रुपमा सवारीसाधन नचलाउन समेत आग्रह गरिएकाे छ । वायुप्रदूषण ह्वात्तै बढाउने कारक तत्वमध्ये उपत्यकाका इँटा उद्योग, सवारी तथा कलकारखानाबाट निस्किएको धुवाले वातावरणलाई दूषित बनाएको हाे । जाडो याममा इँटा उद्योगहरुले इँटा पोल्ने गर्छन् ।
तेसाे त वायुप्रदूषणले जनस्वास्थ्यमा नकारात्मक असर नै पर्छ । तर, कोरोना भाइरस कोभिड—१९ संक्रमित बिरामीलाई वायुप्रदूषणले झनै नकारात्मक प्रभाव पर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । वायुप्रदूषणले विश्वमा कोभिड संक्रमितको मृत्युदर ३ प्रतिशतले बढाउने सहयोग गरेको अध्ययनहरुले देखाएको छ । वायुप्रदूषणले सिधै श्वासप्रश्वास प्रक्रियामा असर गर्ने भएकाले स्वास्थ्य गम्भीर समस्या निम्ताउन सक्ने बताइएकाे छ ।
वायुप्रदूषणले कोभिड संक्रमित बिरामीलाई थप क्षति पु¥याउन सक्ने भएकाले उपत्यकाको वातावरण प्रदुषणमय हुँदा चिन्ताको विषय बनेको छ । उपत्यको वातावरण धुँवामय भएका बेला सकेसम्म विनाकाम घरबाहिर ननिस्कन अपिल गरिएकाे छ । काठमाडौं उपत्यकाको प्रदूषित वातावरणमा यात्रा गर्दा मास्कको अनिवार्य प्रयोग, चस्माको प्रयोग गर्न आग्रह गरिएकाे छ ।












