आजका मुख्य समाचारमा
२२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो ।
२२ माघ, जनकपुर । जनकपुरधाममा प्रहरीको लाठी चार्जबाट घाइते भएकामध्ये पूर्वमन्त्री मातृका यादव र रामचन्द्र झासहित चार जनालाई थप उपचारका लागि काठमाडौ लगिने भएको छ । प्रहरीको लाठी चार्जबाट घाइते भएका यादव र झासहित शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहको अवस्था गम्भीर देखिएकोले थप उपचारका लागि काठमाडौं लैजान लागिएको हो ।
२२ माघ, काठमाडौं । पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले सोही आयोजनाअन्तर्गत कुश्मा नगरपालिका-२ खुर्कोटस्थित २२० र १३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानास्थित २२० र १३२ र ३३ केभी सबस्टेसनको पनि उद्घाटन गरेका छन् ।
२२ माघ, काठमाडौं । नेपालमा बिहीबार थप १७१ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ । त्यस्तै काेराेना भाइरसका कारण थप २ दुई जनाको ज्यान गएको छ । यो संगै नेपालमा काेराेना भाइरसका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३३ पुगेको छ ।
२२ माघ, एजेन्सी । कोरोना भाइरसको संक्रमणको कारण इरानका पूर्व फुटबलर अली अन्सारियनको मृत्यु भएको छ । तेहरानको एक अस्पतालमा पूर्व डिफेन्डर अलीको ४३ वर्षको उमेरमा मृत्यु भएको हो ।
२२ माघ, विराटनगर । बन्दको उल्लंघन गरेको भन्दै दाहाल नेपाल समुहका कार्यकताले विराटनगरमा चिया पसलमा तोडफोड गरेका छन् । पूर्वमन्त्री एवं प्रचण्ड-नेपाल समूहका नेता शिवकुमार मण्डल नेतृत्वको समूहले उक्त चिया पसल तोडफोड गरेको हो ।
२२ माघ,खलङ्गा । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्ग सडकमा निर्माण भएका घरटहरा भत्काउन स्थानीयवासीलाई जानकारी दिएपछि सडक चौडा बनाउनका लागि स्थानीयवासी धमाधम सडकमा निर्माण भएका संरचना भत्काउन थालेका छन् ।
२२ माघ, काठमाडौं । सार्वजनिक निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तार गर्न सम्बन्धित प्रदेशमा अध्ययनका लागि कर्मचारी खटाइसकेको छ ।
२२ माघ, महोत्तरी । पछिल्ला चार दिनयता पारिलो घाम लाग्न थालेपछि जाडोबाट राहत मिलेको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत सोमबारयता लगातार घाम लागेर आङ तात्दै गए पनि सर्वसाधारण किसान भने मन खुलाएर खुशी देखिँदैनन् । यसपालि पानी नै नपरी हिउँद सकिन लागेपछि किसानमा खुशी छाउन नसकेको हो ।
२२ माघ, कावासोती । गण्डकी प्रदेशको विकासको आधार मानिएको त्रिवेणी–पोखरा–कोरोला सडकखण्डको दुम्किबास–त्रिवेणी खण्ड निर्माण हुन सकेको छैन् । भारत र चीनलाई जोड्ने सडकका रुपमासमेत हेरिएको त्रिवेणी–पोखरा–कोरोला सडकखण्डको दुम्किबास–त्रिवेणी खण्डको निर्माण कार्य अझै शुरु हुन नसकेको हो ।
२२ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले पार्टी सभापति शेरबहादुर देउवालाई संवैधानिक आयोगहरुमा गरिएका नियुक्तिहरुको खारेजीको माग गर्न आह्वान गरेका छन्।उनले ती आयोगहरुमा असंवैधानिक तरिकाबाट गरिएका नियुक्तिहरुको आफूलगायत कांग्रेसका केहि नेताहरुले विरोध गरिसकेको तर पार्टी सभापति देउवाबाट पनि त्यसको विरोध हुनुपर्ने जनाएका छन्।
२२ माघ, अबुजा। नाइजेरियाको दक्षिणपश्चिमी राज्य ओयोमा बुधबार भएको एक सडक दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४३ घाइते भएका सरकारी निकायले बिहीबार जानकारी दिएको छ ।
२२ माघ, काठमाडौं । नेकपा दाहाल-नेपाल समूहका कार्यकताले आम हड्तालमा सडकमै खाना पकाएर खाएका छन् । बिहीबार गरेको आम हड्तालमा कोटेश्वरमा खटिएका कार्यकर्ताले सडकमै खाना बनाएर खाएका हुन् ।
२२ माघ, काठमाडौं । स्थानिय बजारमा बिहीबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले सस्तो भएको छ । बुधबार ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
२२ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बन्दले जनतालाई दुख भएको बताएका छन् । हड्तालको अनुगमनमा निस्किएका नेपालले पत्रकारहरुसँग कुरा गर्दै बन्दले जनतालाई दुःख कष्ट भएको छ, यसमा हामी क्षमा माग्न चाहन्छौं भनेका हुन् ।
२२ माघ, काठमाडौं । आज काठमाडौं उपत्यकासहित नेकपा प्रचण्ड–नेपाल समूहको बन्दले देशैभरको जनजीवन प्रभावित भएको छ । नेकपा दाहाल-नेपाल समुहले गरेको बन्दले उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परेका छन् ।
२२ माघ, काठमाडाैं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने जनाएकाे छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोकमा पुगेर नाराबाजी गरेका हुन् ।
२२ माघ, दमक। झापाको शिवसताक्षीमा गए राति बससँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–११ झरना पुलस्थित सडकखण्डमा साँझ ६ः४० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख १९८० नं को बसलाई विपरीत दिशाबाट आउँदै गरेको बा५६प २९५८ नंको मोटरसाइकलले ठक्कर दिँदा त्यसका चालक शिवसताक्षी–११ का ४० वर्षीय पूर्ण कडरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।
२२ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दाहाल-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।
२२ माघ, काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहका कार्यकर्ताले गोंगबुमा एक ट्याक्सीमा आगजनी गरेका छन् । गोंगबुमा रोकिराखेको कुम्भनारायण श्रेष्ठको प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा दाहाल-नेपाल समूहका कार्यकर्ताले आगजनी गरेका हुन् ।
२२ माघ, काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहले आह्वान गरेको आम हड्तालमा बन्द गराउँदै हिडेका ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँका विभिन्न ठाउँबाट प्रहरीले दाहाल-नेपाल समूहका ४० जना कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ ।