Ad #144479

२२ माघ, काठमाडौं । आज काठमाडौं उपत्यकासहित नेकपा प्रचण्ड–नेपाल समूहको बन्दले देशैभरको जनजीवन प्रभावित भएको छ । नेकपा दाहाल-नेपाल  समुहले गरेको बन्दले उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परेका छन् ।

 नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दकर्ता निस्किएका र अहिलेसम्म उपत्यकामा मात्रै ८० भन्दा बढी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत रहेका छन् ।

प्रहरीका अनुसार बिहान केही कम गाडी चलेका भए पनि विस्तारै बढ्ने क्रममा रहेको छ । बिहानै काठमाडौंको सामाखुशीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले अन्य अप्रिय घटना अहिलेसम्म नभएको बताए ।

गृहमन्त्रालयले पूर्ववतरूपमा निर्धक्क भएर यातायात व्यवसाय, उद्योगधन्दा तथा पेशा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । दैनिकरुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइएको मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत जनाइसकेको छ ।