घाइते पूर्वमन्त्री यादव र झासहितलाई थप उपचारका लागि काठमाडौ ल्याइदै

२२ माघ, जनकपुर । जनकपुरधाममा प्रहरीको लाठी चार्जबाट घाइते भएकामध्ये पूर्वमन्त्री मातृका यादव र रामचन्द्र झासहित चार जनालाई थप उपचारका लागि काठमाडौ लगिने भएको छ । प्रहरीको लाठी चार्जबाट घाइते भएका यादव र झासहित शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहको अवस्था गम्भीर देखिएकोले थप उपचारका लागि काठमाडौं लैजान लागिएको हो ।

प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको प्रादेशिक अस्पतालका मेसु डा प्रमोद यादवले जानकारी दिए । हाल उनीहरूको प्रादेशिक अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

उनका अनुसार झाको टाउकोमा, यादवको अण्डकोषमा गम्भीर चोट लागेको छ । नगरप्रमुख बरबरिया र नेता साहलाई टाउको र शरीरका अन्य भागमा चोट देखिएको छ । घाइतेहरूलाई थप उपचारका लागि काठमाडौस्थित टिचिङ्ग अस्पतालमा लगिने तयारी भइरहेको संघर्ष समिति धनुषाका संयोजक सुधिर साहले जानकारी दिए ।