१४ पुष, काठमाडौं । भारतका सबैभन्दा चर्चित यौन विज्ञको निधन भएको छ । समाचारपत्रमा छापिएका स्तम्भका कारण भारतका शहरी क्षेत्रमा चर्चित बनेका एक जना यौन विज्ञको ९६ वर्षको उमेरमा निधन भएको हो ।
डा. महिन्दर वात्सा एक दक्ष प्रसूति तथा स्त्रीरोग विशेषज्ञ थिए र उनले एक दशकभन्दा लामो समयसम्म आफ्नो प्रसिद्ध स्तम्भ ‘आस्क द सेक्सपर्ट’ लेखेका थिए। उनी हजारौँ भारतीयहरूका यौनबारेका प्रश्नहरूको जवाफमा रसिक र स्पष्ट खालका सुझाव दिने गर्थे।
उनका परिवारले जारी गरेको विज्ञप्तिमा डा.वात्साले आफ्नै सर्तमा सम्मानजनक जीवन बाँचेको उल्लेख गरिएको छ। मृत्यु भएको समयमा उनलाई कुनै रोग भए वा नभएको प्रस्ट छैन।
८० वर्षको उमेरमा उनले यौनबारे परामर्श दिने आफ्नो लोकप्रिय स्तम्भ मुम्बई मिरर अखबारमा प्रकाशन गर्न थालेका थिए। भारतको अधिकांश घरमा अझै यौनबारेको छलफल वर्जित हुँदा उनको स्तम्भप्रति ह्वात्तै चासो बढेको थियो भने त्यसप्रति विरोध पनि भएको थियो। मिररमा मात्रै उनले २० हजार पाठकका प्रश्नहरूको जवाफ दिएका थिए।
यौन परामर्शदाताका रूपमा त्यो सङ्ख्या ४० हजारभन्दा बढी थियो। सन् १९७४ मा एफपीएआईमा परामर्शदाताका रूपमा काम गर्ने क्रममा उनले यौन परामर्श र शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्न उक्त संस्थालाई सहमत गराएका थिए।
उनले लेख्न सुरु गर्दा यौनसम्बन्धी कुरा खुलेर गर्न वर्जित थियो र धेरैले उनको सुझाव अश्लील भएको महसुस गरेका थिए। कतिपय स्वास्थ्यकर्मीले त्यो अवैज्ञानिक भएको तर्क पनि गरेका थिए। तर एफपीएआईले उनलाई समर्थन गर्यो र भारतको पहिलो यौन शिक्षा, परामर्श र थेरापी केन्द्रको स्थापना गरियो। उनी स्वयं चाहिँ पाठकका चिन्ता र जिज्ञासाका जवाफ रसपूर्ण अनि मायालु पाराले दिने गर्थे।









