काठमाण्डौ, १७ साउन । नेपाल चीन सम्बन्धको ६५ औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँगको सम्बन्धलाई चीनले विशेष महत्वका साथ लिएको बताउनुभएको छ ।
राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध थप विस्तार गर्नु आफ्नो प्रमुख महत्वको विषय रहेको बताउनुभएको हो । द्विपक्षीय सम्बन्ध विस्तारका लागि नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग सहकार्यको चाहना व्यक्त गर्दै दुई देशका नागरिकको हितका लागि काम गर्न चिन तयार रहेको बताउनुभएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
६५ औँ वर्षगाँठको अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति सीले क्षेत्रीय स्थायित्व तथा विकासका लागि पनि नेपालसँगको सम्बन्ध विस्तार आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको खबरमा उल्लेख छ । नेपाल चीनबीच सन् १९५५ को अगष्ट १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । स्थापना दिवसको अवसरमा दुवै देशका राष्ट्रप्रमुखहरुले बधाई सन्देश आदानप्रदान गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनपिङलाई सन्देश पठाएर नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आउँदा दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।