१६ साउन , काठमाण्डौं । अस्ट्रेलिया सरकारले व्यावसायिक मिडिया कम्पनीबाट उत्पादित समाचार सामग्रीको प्रयोग गरेबापत गूगल र फेसबुकले रकम तिर्नुपर्ने उल्लेख गरेको छ ।
शुक्रबार सार्वजनिक गरिएको अनिवार्य आचार संहिताको मस्यौदामा अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री प्रयोग गरेबापत भुक्तानीको व्यवस्था मिलाउन तीन महिनाभित्र मध्यस्थता गर्न गूगल र फेसबुकलाई आदेश दिएको छ ।
अस्ट्रेलियाका संचारगृहको आर्थिक अवस्थामा सुधार ल्याउन र कर्मचारी कटौतीको समस्या सुल्झाउन गूगल र फेसबुकलाई पहिलो चरणमा यो व्यवस्था ल्याएको र क्रमश डिजिटल प्लेटफर्ममा पनि यो नियम लागू गरिनेअस्ट्रेलियाली अर्थमन्त्री जस फ्राइडेनबर्गले जानकारी दिनुभयो ।
उक्त मस्यौदामाथि सुझाव दिन अगस्ट २८ सम्मको समयावधि दिइएको छ अस्ट्रेलियाको प्रस्तावित मस्यौदामा अमेरिकी यी दुई कम्पनीले अस्ट्रेलियाली संचार माध्यमसँग रकमका बारेमा सम्झौता नगरे तीन महिनापछि सरकारले नै मध्यस्थकर्ता नियुक्त गरी काम थाल्ने अर्थमन्त्री फ्राइडेनबर्गले बताउनुभयो ।
विश्वका अन्य मुलुकले यस्तो प्रयोग गरेपनि असफल भएकाले गूगलले अस्ट्रेलिया सरकारले अघि सारेको मस्यौदा एकतर्फी रहेको र त्यसले डिजिटल अर्थतन्त्रका लागि बाधा सिर्जना गर्ने बताएको छ ।