अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसात्मक गतिविधि बढेको भन्दै विभिन्न शहरहरुमा संघीय सुरक्षाकर्मी पठाउने घाेषणा गरेका छन् ।
ट्रम्पले बुधबार हिंसा नियन्त्रणमा लिनका लागि भन्दै ‘अपरेशन लेजेण्ड’ को घोषणा गरेका हुन् । यो अपरेशनमा संघीय अनुसन्धान व्युरो (एफबिआई), मार्शल सर्भिससहितका अरु संघीय एजेन्सीका सुरक्षाकर्मी तथा अधिकारीहरु सामेल हुने छन् ।
गएको मे २५ मा मिनेशोटाको मिनियापोलिशमा प्रहरीको ज्यादतीका कारण निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको निधन भएपछि प्रदर्शन हुँदै आएको छ ।
यस्तै महानगर क्षेत्रमा पछिल्लो समय गोलीकाण्डहरु बढेका छन् । न्यूयोर्क सिटी, फिलाडेलफिया, लस एन्जलस, शिकागो, मिल्वाकीसहितका शहरमा गोलीकाण्डका घटना बढेका हुन् ।
गएको जुनमा कान्सस सिटीमा घरमा सुतिरहेका बेला चार वर्षका बालक लेजेन्ड टालिफेरोमाथि गोली प्रहार भएको थियो । गोली लागेर निधन भएका ती बालककी आमाको साथमा ट्रम्पले बुधबार अपरेशन लेजेण्ड घोषणा गरेका हुन् ।