वर्षाले ललितपुरको गोदावरी नगरपालिकाकामा सडक, घर तथा धानबालीमा क्षति वर्षाका कारण ललितपुरको गोदावरी नगरपालिकाका भित्री सडक अवरुद्ध भएका छन् । केही घर जोखिममा परेका छन् । अवरुद्ध सडक र जोखिममा परेका घरको लागत सङ्कलन गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ ।
गोदावरी–१ गोदामचौर छिर्ने हाँडीगाउँ सडक अवरुद्ध हुँदा यात्रामा समस्या भइरहेको वडाध्यक्ष हरिहर कार्कीले बताउनुभयो । धानबालीमा पानीको भेल पस्दा धानखेतमा समेत नोक्सानी गरेको छ । मूलपानी चउर नजिकै रहेको सिद्धीगणेश मन्दिरको जमिन बाढीले भासेर समस्या भइरहेको कार्कीले बताउनुभयो ।
ललितघुम्ती सडक ठाउँठाउँमा पहिरो खसेर विशङ्खुनारायण थानका केही ठाउँमा असर परेको वडा नम्बर २ का वडाध्यक्ष देवेन्द्रकुमार बस्नेतले बताउनुभयो । उहाँका अनुसार जमिन कटान गरी जताततैबाट बाटो बनाएर बग्दा २० देखि २५ घरपरिवारलाई क्षति पु¥याएको छ । साविकको गोदावरी नहर क्षेत्रमा सडक भत्किएर आवतजावतमा समस्या भइरहेको वडा ३ का अध्यक्ष बालमुकुन्द घिमिरे बताउनुभयो ।
लेले थापागाउँका पाँच घरपरिवार विस्थापित हुने अवस्थामा पुगेको ५ नम्बर वडाका वडाध्यक्ष मिलन सिलवालले बताउनुभयो । पानीको भेलले सडकको ग्राभेल बगाउनुका साथै लेले भञ्ज्याङ छिर्ने मुख्य सडकमा माटो खसेर अवरुद्ध छ । देवीचौरका ३ देखि चार घर बस्न नहुने अवस्थामा पुगेका वडा ७ का वडाध्यक्ष गिरिप्रसाद तिमिल्सिनाले बताउनुभयो । त्यहाँ १२ घर चर्किएका छन् ।
तरकारी सङ्कलन केन्द्रमा लगाएको तारजाली पानीले बगाउँदा पुन हाल्नुपर्ने भएको तिमिल्सिनाले जानकारी दिनुभयो । छम्पीका चारदेखि पाँच घर पहिराका कारण धरापमा परेका वडा ९ का वडाध्यक्ष आत्माराम थापा क्षेत्रीले बताउनुभयो । सिँचाइ क्षेत्रमा पहिरो खसेर पुरिएको छ ।
पहिरोले थेचोको एक घरमा क्षति पु¥याएको छ । सडकमाथिको पर्खाल भत्काउनुका साथै नख्खु खोला आसपासमा रहेका धानबाली समेत बिगारेको १२ का वडाध्यक्ष जगत्बहादुर महर्जनले बताउनुभयो । झरुवारासीका १६ देखि १७ घर जोखिममा पारेको १३ वडाका वडाध्यक्ष भाष्कर थापाले बताउनुभयो ।
झरुवारासीमा उत्पादन गरिएका तरकारीका टनेलका साथै केही ठाउँका पर्खाल समेत मर्मत गर्नुपर्ने भएको छ । वर्षाले गोदावरीका १४ वटै वडामा कति नोक्सान भयो भन्ने लागत सङ्कलनको काम भैरहेको उपप्रमुख मुना अधिकारीले बताउनुभयो ।