पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई फेरी साढे तीन वर्षको जेल सजाय

मस्कोको एउटा अदालतले पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई पहिलाको जेल सजायका बेला राखिएका सर्तहरू उल्लङ्घन गरेको भन्दै साढे तीन वर्षको जेल सजाय सुनाएको बि बि सी ले जनाएको छ ।

गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउमा परेका उनी त्यसयता हिरासतमै छन्। गत अगस्टमा घातक विष हमलामा परेका नभाल्नीको झण्डै ज्यान गएको थियो र उनले जर्मनीमा उपचार गराएका थिए।

नभाल्नीलाई पक्राउ गरेर थुनामा राखिएदेखि नै रुसभरका विभिन्न सहरमा दशौँ हजारले विरोध प्रदर्शन गर्दै आएका छन्।
नभाल्नीले यसअघि नै घरमै नजरबन्दमा एक वर्ष बिताइसकेका छन्। उक्त अवधिलाई जेलसजायबाट घटाइनेछ।

मस्कोमा रहेकी सारा रेन्सफोर्डका अनुसार नभाल्नीले उक्त खबरप्रति कडा प्रतिक्रिया जनाएका थिए।अदालतमा नभाल्नीले राष्ट्रपति पुटिनलाई “विष दिने व्यक्ति” भनेका थिए र आफूमाथिको हमलाको दोष पनि उनैलाई लगाएका थिए।

अदालतले सजाय सुनाएलगत्तै अन्तर्राष्ट्रिय समुदायको कडा प्रतिक्रिया आएका छन्। युरोपेली महादेशकै मानवअधिकारसम्बन्धी अग्रणी निकाय काउन्सिल अफ युरोपले अदालतको फैसलाले “विश्वसनीयतालाई उपेक्षा” गरेको जनाएको छ।