रमिता दंगाल
काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका थलीमा दरबार हाईस्कुलपछिको दोस्रो ठुलो आधुनिक विद्यालय बन्ने भएको छ । थलीको कान्ति भैरव सेकेण्डरी विद्यालयको भवन भारत सरकारको अनुदानमा बन्ने भएको हो ।
विद्यालय भवन निर्माणका लागी भारत सरकारले झण्डै ३५ करोड अनुमानित रकम विनियोजित गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनीयर अशोक अधिकारीले जानकारी दिनुभयो । सबै सुबिधाहरुलाई व्यवस्थापन गरेर भवन निर्माण हुनेछ । भवनका लागि टेन्डर मुल्यांकनको काम सकिएको छ । भारतीय दुतावासले स्विकृती दिसकेपछि भवन निर्माणको काम अगाडी बढ्ने उहाँको भनाई छ ।
नेपाल सरकारसँग सम्झौता भएर विद्यालयको पुनर्निर्माणका लागि प्राधिकरण मार्फत् रकम आएको हो । टेन्डर मुल्यांकनको काम सकिएको र यो महिनाभित्रैमा ठेक्का सम्झौता भएर काम सुरु हुने अधिकारीले बताउनुभयो । नयाँ निर्माण हुने आधुनिक भवनमा विद्यार्थीहरुलाई चाहिने सबै सुबिधा हुनेछ ।
‘चीनले जसरी दरबार स्कुल बनाएको छ’ अधिकारीले भन्नुभयो,‘त्यहि मोडालिटीमा इन्डियन ग्रान्डको सबै भन्दा ठुलो स्कुल हुने अधिकारीले जानकारी दिनुभयो ।’ प्राधिकरणले कन्ट्राक गर्ने, अनुगमन गर्ने, मुल्यांकन गर्नेदेखि क्वालिटी कन्ट्रोल सबै काम गर्ने पनि अधिकारीले जानकारी दिनुभयो ।
तर विद्यालयका प्रधानाध्यापक तिर्थराज कोइरालाले लिफ्ट सहितको आधुनिक भवन निर्माण हुने भनेर सुनिएको तर औपचारिक जानकारी नआएको बताउनुभयो । उहाँले भन्नुभयो,‘स्कुलको नक्सा अनलाइनमा पनि पोस्ट भएको छ । हामीलाई औपचारिक जानकारी छैन ।’ भवन निर्माणको प्रक्रिया सुरु भएको छैन, डीपीआर सकिएर डीएलपीआइयूले सामान्य नक्सा उपलब्ध गराएको उहाँले बताउनुभयो ।








