Ad #144479

रमिता दंगाल

बनिता केसी सहभाव बचत तथा ऋण सहकारी संस्थामा काम गर्नुहुन्छ । उहाँले कोरोनालाई जितिसक्नुभएको छ । कन्ट्याक्ट ट्रेसिंङ्गमा परेर केसी क्वरेन्टिनमा बस्नुभयो । क्वरेन्टिनमा बस्दाबस्दै उहाँलाई लक्षण देखिन सुरु भयो । ‘सुरुमा एकदमै जीउ दुख्यो । एक दुई दिन यति गाह्रो गरी जीउ दुख्यो कि त्यस्तो दुखाइ मैले कहिल्यै भोगेको थिइन ।’

कोरोना हुँदा भोग्नुपरेको लक्षणबारे उहाँ भन्नुहुन्छ,‘शरिर एकदमै घोच्ने, दुख्ने भयो । त्यसपछि रुघा लाग्यो अनि ज्वरो पनि आयो ।’

आजको दोस्रो श्रृंखलामा हुनुहुन्छ बनिता केसी।

बनिता केसी

पीसीआर परिक्षण र संक्रमण पुष्टि

क्वरेन्टिनमा बस्दा बस्दै केसीलाई कोरोनाका लक्षण देखिएका थिए । त्यसपछि उहाँले केएमसी अस्पतालमा परिक्षण गर्नुभयो । वडाबाट परिक्षण गर्दा ढिलो हुने भयो । घरमा पनि बालबच्चा थिए । चाँढै नै संक्रमणबारे जानकारी लिन सके सजिलो हुने भएकाले उहाँले केएमसीमा परिक्षण गरेको बताउनुहुन्छ । चेक गरेपछि कोरोना पोजेटिभ नै देखियो । जुन पूर्वअनुमान गरिएको थियो । उहाँले भन्नुभयो,‘पोजेटिभ आइसकेपछि अझ गाह्रो भयो ।’

संक्रमित हुँदाको पिडा : उहाँकै अनुभवमा

म एक्लै रोएँ । एकदमै रोएँ । त्यति बेला मलाई सय भन्दा धेरै कल फोन आयो । म त्यो कल उठाउन सकिन । रुदारुदैँ स्वास फेर्न गाह्रो भयो । त्यसपछि मैले धेरै कोसिस गरे अब रोएर हुँदैन भनेर । बालबच्चा सम्झेँ। घर व्यवहार सम्झे । हरेश खानु हुँदैन भनेर चित्त बुझाउन खोजेँ । आफैंले पहिला आत्मबल बढाउन खोजेँ । परिवार र आफन्तले पनि सम्झाउनु भयो ।

मैले ढोका एक्लै थुनेर पनि बसेँ । श्रीमान्ले त्यसो गर्नु हुँदैन भनेर सम्झाउनुभयो । रातमा पनि श्रीमान्ले बेला बेला उठाउने गर्नुहुन्थ्यो । कतै गाह्रो पो भएको छ की भनेर बोलाइ राख्नुहुन्थ्यो । संक्रमण पुष्टि हुने दिन नउठेका फोन अर्को दिन फर्काए । हिजो फोन रिसिभ गर्न सकिन भने । अब म ठिक हुन्छु भन्दै रहे । केहि दिन बिते । त्यसपछि म निको भए ।

सिटामोलको भर

कोरोनाको अहिलेसम्म औषधि बनेको छैन । लक्षण अनुसार औषधि दिने गरिएको छ । केसीले पनि संक्रमण भैसकेपछि सिटामोलको भरमा कोरोनालाई जितेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘कहिले एउटा, कहिले दुईवटा सिटामोल खाँए । सास फेर्न गाह्रो भएर अस्पताल जानुपर्ने अवस्था आयो । तैपनि गाह्रो हुनेरात अस्पताल गईन ।’

‘कोरोना लागेपछि डराउनु हुँदैन । परिवार, छिमेक, साथीहरुको साथ र सपोर्ट अपरिहार्य छ । औषधि नै नभएको रोग भएकाले अलिकति सपोर्ट गर्दा पनि आधा रोग निको भएको अनुभव हुन्छ । उहाँले भन्नुभयो,‘कोरोना केहि पनि हैन भनेर हेलचेक्राई गर्नुहुँदैन ।’

खानपानमा ध्यान दिनुपर्छ : पानी टन्न पिउनुपर्छ

कोरोनालाई जित्न रोग प्रतिरोधी शक्ति आवश्यक छ । सन्तुलित खानपान अरु बेला पनि आवश्यक छ । केसीले आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ,‘खानपिन अरु बेला भन्दा अलिक पौष्टिक नै भयो । सुपहरु अलिक बढी नै खाइयो, मसरुम सुप, चिकेन सुपहरु ।

माछा मासु खानेलाई त खसीको टाउको, खसीको खुट्टाको सुपहरु पनि खान भैहाल्यो, अरु बेला एक दुई गिलास भन्दा बढी पानी नै नखाने मैले दिनमा तीन चार थर्मससम्म पिए । कोरोनालाई जित्नकै लागि भएपनि पानी टन्नै खाइयो ।

नआत्तिऔँ : आत्मबल बढाऔँ

कोरोना लाग्दैमा आत्तिहाल्नु चाहिँ पर्दैन । बरु थप सतर्क हुनुपर्छ । अरुसँग कुरा गर्दा भौतिक दूरी कायम गर्नुपर्छ । कोरोना लागेको कोहि हुनुहुन्छ भने परिवारले यति धेरै सपोर्ट गर्नुस् की कोरोना लागेको फिल नै हुन नदिनुस् । एउटै रूममा गएर बोल्न सम्भव नहुँन सक्छ । तर भिडियो कल गर्न सकिन्छ ।

मलाई श्रीमान्ले अति सपोर्ट गर्नुभयो । त्यसैगरी आत्मबल बढाउन सकेँ अनि निको भएँ ।