Ad #144479

रमिता दंगाल

काठमाण्डौको गोठाटारमा जन्मिनुभएका टपबहादुर थापा २० वर्षदेखि निरन्तर सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । उहाँले सामाजिक काम सुरु गर्दा नेपालमा राजतन्त्र थियो । त्यसपछि राजतन्त्र सकियो, देश संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो । थापा २०५८ सालदेखि निरन्तर सामाजिक क्षेत्रमा हुनुहुन्छ ।

पारिवारीक अवस्था र समाजसेवा अघिका दिनहरु

बुवा स्वर्गिय सिद्दिबहादुर थापा र आमा स्वः ढुकुमारी थापाको कोखबाट २००६ सालमा जन्मिनुभएका थापाले सानैमा आमालाई गुमाउनुभयो । थापाले गान्धी आदर्श माध्यमिक विद्यालयमा कक्षा ८ सम्म पढ्नुभयो । पढाई छोडेर काममा लागेसँगै थापाले २०२१ सालमा द्च्ची थापासंग विवाह गर्नुभयो । उहाँका तीन जना छोरा छन् । २०४५ सालमा थापाले श्रीमती गुमाउनुभयो ।

टपबहादुर थापाका बुवा सर्बोच्च अदालतमा जागिरे हुनुहुन्थ्यो । उहाँलाई २०२७ सालमा बुवाले सर्बोच्च अदालतमा काम लगाई दिनुभयो । त्यहाँ काम गर्दा गर्दै उहाँले एयरपोर्टको भन्सारमा काम गर्नुभयो । थापाले एयरपोर्टमा ६ वर्षसम्म अस्थाई रुपमा काम गर्नुभयो । त्यसपछि फेरी मंगलबजारको जिल्ला अदालतमा काम गर्दै गर्दा आफैंले भनेर काठमाण्डौ जिल्ला अदालतमा काम गर्न सुरु गर्नुभयो ।

काम गर्दै गर्दा समाजसेवामा लागेका थापा २०७२ सालमा कामबाट रिटायर्ड हुनुभयो । तत्कालिन गोठाटार गाविस वडा नम्बर ८ थापा गाउँका थापाको सामाजिक क्षेत्रमा ठुलो योगदान रहेको छ ।

श्री ५ विरेन्द्र स्मृति प्रतिष्ठानको स्थापना

थापाले पुरात्व विभाग, सिडियो कार्यालय र राजदरबारबाट स्वीकृति लिएर २०५८ सालमा गोठाटार ८, विरेन्द्र चोकमा श्री ५ विरेन्द्र स्मृति प्रतिष्ठानको स्थापना गर्नुभयो । सालिक राख्न स्वीकृति पाएपछि लगनखेलको ढुङ्गाको मुर्ति बनाउने कलाकार धर्म शाक्य कहाँ गएर सालिक बनाउन अर्डर दिनुभयो । गान्धी माध्यमिक विद्यालयमा भागवत लगाएर तीन लाख रुपैयाँ जम्मा भएको थियो ।

भागवत पुराण हिन्दूहरूका अठार पुराणहरू मध्येको एक हो । भागवत पुराण लगाएर प्राप्त दानले उहाँले सामाजिक कार्यमा खर्च गर्दै आउनुभएको छ । त्यो तीन लाख पैसाले बिरेन्द्र स्मृति प्रतिष्ठानमा पार्क बनाउनुभयो । त्यसपछि मालपोत कार्यालयबाट कागज बनाएर गाविसबाट स्वीकृति लिएर विरेन्द्र स्मृति पार्कमा राजारानीको सालिक राख्नुभयो । त्यसको अध्यक्षमा त्यसबेलाका गाविस अध्यक्ष कृष्णहरि थापा हुनुहुन्थ्यो ।

बंगलामुखी मन्दिर तथा मनोहरा सामुदायिक भवन

समाजसेवामा निरन्तर योगदान गर्नुभएका थापाले स्वर्गिय राजा विरेन्द्रको जन्मोत्सवको अवसरमा २०६८ सालमा गोठाटारमा बंगलामुखी मन्दिर तथा मनोहरा सामुदायिक भवनको स्थापना गर्नुभयो । मनोहरा सामुदायिक भवन उहाँले आफ्नै निजि जग्गामा बनाउनुभएको हो । र भवनसंगै मन्दिर भने एलानि जग्गामा बनाउनु भएको हो ।

बंगलामुखी मन्दिरमा श्रीमद् भागवत लगाएर मनोहरा सामुदायिक भवनको निर्माण गर्नुभयो । त्यहि भवनमा बिरेन्द्र स्मृति प्रतिष्ठान र बंगलामुखीको अफिस छ ।

मनोहरा सामुदायिक अस्पताल

२०६१ सालमा फेरी भागवत लगाउने सल्लाह भयो । भागवत लगाउनुको उदेश्य थियो, अस्पताल स्थापना गर्न । त्यसबाट १० लाख पैसा उठ्यो । गोठाटारको विरेन्द्र चोक नजिकै एउटा सिङ्गै घर महिनाको ३० हजार भाडामा लिएर सबै व्यवस्थाका साथ मनोहरा सामुदायिक अस्पताल खोल्नुभयो । अहिले जोडिएर तुलसीमेयर मनोहरा सामुदायिक भएको छ । यसका लागि तत्कालिन गाविसले पनि पैसा दिएको थियो ।

पहिला ५ शैयाको अस्पताल अहिले १५ शैयाको भएको छ ।

शिक्षामा योगदान

गोठाटारमा एसएलसी पछि पढ्न कलेज नहुँदा कतिपयले पढ्न सकेनन् । प्लस टु खोल्न पनि उहाँले श्रीमद् भागवत लगाउनुभयो । थापा भन्नुहुन्छ,‘१२ सम्मको कक्षा संचालन गर्नको लागि जुम्लाका एक जना मानिसले दस लाख रुपैंया सहयोग गरे । सबैको सहयोगमा दस करोड रुपैयाँ जम्मा भयो । सोहि पैसाबाट कक्षा १२ सम्मको कलेज संचालन भयो । अहिले सबैले पढ्न पाएका छन् ।’

सडक कालो पत्र

काठमाण्डौ मुख्य शहर, देशको राजधानी भएपनि त्यसबेला धेरै सडक धुलाम्मे नै थिए । गोठाटारमा पनि सडकहरु पिच थिएनन् । थापाले राजाको हुकुम प्रमाणी नै ल्याएर गोठाटारमा बाटो पिच गर्नुभयो । सडक विभागबाट पैसा मागेर भएपनि उहाँले गान्धीचोक देखि बिरेन्द्र चोकसम्म सडक पिचको काम गर्नुभयो ।

तारानाथ रानाभाटको पालामा हवाई विभागले पनि बाटो पिच गरिदिने भयो । हवाई विभागले बाटो पिच गर्दा पनि उहाँ लागि परेर काम गराउनुभयो । सानो सानो सडक भएको ठाउँहरुमा पनि उहाँकै पहलमा सडक फराकिलो बनाएको थियो ।

किरियापुत्री भवन निर्माण

काठमाण्डौको गोठाटार क्षेत्रमा रहेका आवश्यकताबारे जानकार थापाले विभिन्न कामहरु गर्नुभएको छ । किरियापुत्रीलाई बसोबासका लागि सहज हुनेगरी धाराको चौर, थापा गाउँमा २०७२ सालमा दुई रोपनी ऐलानी जग्गामा क्रियापुरी भवन निर्माण गर्नुभयो । भवन बनाउन भागवत लगाएर उठेको पैसाले पुगेन ।

नाताले भान्जा पर्ने राधे खड्काले एक ढलान र अर्को एक ढलान दामोदर खड्काको सहयोगमा भवन निर्माण गरिएको थापाले बताउनुभयो । भवनको अन्डर ग्राउण्डमा एउटा पुरै हल नै छ । त्यहाँ दुई÷तीन परिवार बस्न मिल्नेछ । माथिको दुई तलामा नै ४÷४ कोठाको भवन निर्माण भएको छ ।

पुलिस चौकी स्थापना

काठमाण्डौको गोठाटारमा ८ वर्षअघि श्रीपञ्चमीको दिन गोली चल्यो । झगडा भैरहेको बेला स्कुलबाट घर फर्किरहेका एक बालकलाई गोलि लाग्यो । उनको ज्यान गयो । वरपरको सुरक्षाका लागि पुलिस चौकी थिएन । थापाले किरियापुत्रीका लागि बनाइएको भवनमा पुलिस चौकीको स्थापना गर्नुभयो ।

२०७० सालमा श्रीपञ्चमीको दिनदेखि त्यस भवनमा पुलिस चौकी राखिएको हो । अपराधिक घटना हुन नदिन र सामाजिक सुरक्षाको लागि चौकीको स्थापना गरिएको उहाँ बताउनुहुन्छ ।

सप्तऋषिश्वर महादेव भजन मण्डल निर्माण

थापाले निर्माण कमिटीको अध्यक्ष भएर सप्तऋषिश्वर महादेव भजन मण्डल निर्माण गर्नु भएको छ । निर्माण सुरु भएको एक वर्ष भयो एक तला मात्र बनेर पर्खाल लगाउने काम बाँकि रहेको छ । अब देशको अवस्था हेरेर विरेन्द्र चोकमा एउटा भागवत लगाउने र त्यहाँबाट प्राप्त रकमले सप्तऋषिश्वर महादेव भजन मण्डल निर्माणको बाँकि रहेको काम सम्पन्न गर्ने उहाँको इच्छा छ ।

उहाँले विरेन्द्र चोकभन्दा बाहिर फूलबारी बनाउनु भएको छ । पालिकाबाट पैसा जुटे विरेन्द्र स्मृतिमा पार्क बनाउने चाहना रहेको उहाँ बताउनुहुन्छ । ‘सामाजिक काम समाजकै लागि हुन्छ’ उहाँ भन्नुहुन्छ,‘समाजसेवा र सामाजिक काम व्यक्तिगत काम भन्दा धेरै फरक हुन्छ । विशेषगरी समाज र नागरिकप्रति समर्पित हुन्छ ।’