२८ कार्तिक, बैतडी । बैतडीको खोड्पेमा बस दुर्घटना भएर मृत्यु भएका सबैको सनाखत भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार राति दुर्घटनामा परी मृत्यु भएका ९ जनाको प्रहरीले सनाखत गरेको हो ।
मृत्यु हुनेमा बैतडीका ३ जना, दार्चुला, कञ्चनपुर र कैलालीका दुई दुई जना रहेका छन । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार बैतडीको दोगडाकेदार ६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, सित्तडकै २७ वर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कवीन्द्र जोशी, दार्चुलाको लेकम गाउँपालिका ४ का तर्कराज गिरी र दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझाको दुर्घटनामा परी मृत्यु भएको हो ।
कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की, सोही नगरपालिका(१० का विज्ना धामी र धनगढी उपमहानगरपालिका ४ का नरेन्द्र चौधरी र सोही धनगढीकै वडानम्बर १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकमध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका ३४ जनामध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो । सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।












