निर्माण सुरु भएको छ वर्षपछि थली सडक कालोपत्र हुने भएको छ । चावहिल–साँखु सडकअन्तर्गतकाे सो सडक बुधबारदेखि कालोपत्र हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा अरू खण्डमा सडक निर्माण भइसकेपनि उक्त खण्डको निर्माण सम्पन्न नहुँदा स्थानीयवासीकाे घर र पसलमा धुलो उडेर तथा वर्षामा सडक प्रयोगकर्ता खाल्डै खाल्डाका कारण हैरान भएका थिए ।
सो खण्डमा आवश्यक तयारीका काम भइसकेकाले अब कालोपत्र गरिने आयोजनाका प्रमुख कृष्णनाथ ओझाले बताए । गत वर्ष त्यहाँका स्थानीयवासीले चौडाइ बढाएर मात्रै कालोपत्र गर्न भनेकाले त्यतिबेला नभएर अहिले गरिएको उनले जनाए ।
जग्गा जति उपलब्ध भयो त्यसैका आधारमा कतै फराकिलो त कतै साँघुरोमै कालोपत्र गरिएको छ । झण्डै १२ किमी लम्बाइको सो सडकको चौडाइमा एक रूपता नभएको उनले बताए ।
पूरै सडकमा अधिकांश ठाउँमा छेउमा ढल राखिएको प्रवक्ता जोशीकाे भनाइ छ । चौडाइ पाँच/सात मिटर भएका ठाउँमा दुईतिर ढल हाल्न नसकिने हुँदा एकातर्फबाट मात्रै ढल हालिएको छ भने अधिकांश स्थानमा दुवैतर्फबाट ढल हालिएको छ । तिवारी टोलमा मात्रै एकातिरबाट मात्रै ढल छ भने थलीमा अहिलेका लागि एकातर्फबाट मात्रै ढल हालिएको उनले बताए ।
जग्गा उपलब्ध नहुँदा लामो समयसम्म सम्पन्न हुन नसकेको सडक योजनाका रूपमा चावहिल–साँखु सडक रहेको छ । यहाँ पटक–पटक पहल गर्दा पनि जग्गा उपलब्ध भएको थिएन भने कतै प्राप्त जग्गामा समेत पछि स्थानीयवासीले काम गर्न नदिएको आयोजनाले जनाएको छ ।
सलम्बुटारमा सडक निर्माणका लागि तयारी गर्दा पूरै मापदण्डअनुसार चौडाइमा नै दुवैतर्फ ढल हालेर पर्खाल लगाइएको थियो । सर्वाेच्च अदालतको आदेशपछि व्यक्तिगत जग्गा लिन नसकिएकाले कम चौडाइमा कालोपत्र गरिएको उनले जानकारी दिए ।
यहाँ तीन खोलामा पुल निर्माण गरिने आयोजनाले जनाएको छ । पहिले दुई लेन रहेको सडकलाई चार लेन बनाउनका लागि हाल भइरहेको पुलभन्दा दायाँबायाँ बनाउन लागिएको हो । चावहिल–साँखु सडक कतिपय स्थानमा एक वा दुई घरका कारणले पनि सडक निर्माण अवरुद्ध बनेको थियो । आयोजनाले सम्बन्धित नगरपालिका र वडासँगको समन्वयमा नै ती समस्या हल गरेर काम अघि बढाएको थियो ।
आयोजनाले पैदलयात्रुमार्ग, वर्षाको पानी जम्मा हुने पाइपलगायत संरचनासमेत निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । आयोजनाले २२ मिटर चौडाइ कायम गर्ने गरी ठेक्का सम्झौता गरे पनि सोअनुसार काम हुन सकेको छैन ।
सो सडकमा निर्माण सम्झौता भएको तीन वर्षपछि कालोपत्रको काम सुरु भएको थियो । मुआब्जा विवादसँगै सो सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार, टेलिफोन र बिजुलीका खम्बा, ढललगायत संरचनाले पनि काममा अवरोध पुर्याएको थियो । पटक–पटक पत्राचार गर्दा पनि सम्बन्धित निकायले संरचना सार्न ढिलाइ गर्दा कतिपय स्थानमा आयोजना आफैँले ती संरचना हटाएर निर्माण स्थल खाली गराएर काम अघि बढाएको छ ।
सडक विस्तार हुँदा आफ्नो घरजग्गा मासिने भएकाले स्थानीयवासी मुआब्जा पाउनुपर्ने माग गर्दै सर्वाेच्च अदालतसम्म पुगेका थिए । सरकारले तीन वर्षअघि नै विस्तारका क्रममा रहेका उपत्यकाका सडक यथास्थितिमै कालोपत्र गर्ने निर्णय गरेको थियो । यसबीचमा मन्त्री, सांसद र शीर्ष नेताले सडकको पटक–पटक अनुगमन गरिसकेका छन् ।
पछिल्लो पटक नवनिर्वाचित सांसद सोबिता गौतमले पनि आयोजना र स्थानीयवासीसँग छलफल गरेर सडक निर्माण चाँडो सम्पन्न गर्न पहल गरेकी छिन् । १० सडक विस्तार सुरु भएकामा कतिपय सम्पन्न भएका छन् भने कति अन्तिम चरणमा छन् । काठमाडौँका कागेश्वरी–मनोहरा, गोकर्णेश्वर र शङ्करापुर नगरपालिकासँगै सिन्धुपाल्चोकका विभिन्न पालिकाका नागरिक यही सडक हुँदै आवतजावत गर्दै आएका छन् । राससनिर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आज नामावली सार्वजनिक हुनेछ ।
आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि नै गरिसकेको छ । जसअनुसार प्रतिनिधिसभामा एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५-५ सिट पाएका छन् ।
प्रत्यक्षतर्फको नतिजा यसअघिको सार्वजनिक भइसकेको छ । समानुपातिकको अन्तिम नतिजा सार्वजनिक भएसँगै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अन्तिम परिणाम बुझाउनेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।