रमिता दंगाल
१ साउन, काठमाडौ । कागेश्वरीमनोहरा नगरपालिकाको आलापोटमा मौलिक कला संरक्षणका लागि सांस्कृतिक भवन निर्माण गरिदैछ । स्थानीय कला, संस्कृति संरक्षणको र त्यसको निरन्तर प्रचार प्रसार तथा विस्तारका लागि सामुदायिक भवन नै बनाउन लागिएको हो ।
नगरपालिकाको पाँच आना जग्गामा नेवारी सांस्कृतिक सामुदायिक भवन र नगरकोटी सांस्कृतिक सामुदायिक भवन निर्माण गर्न लागिएको श्री संस्कृति संरक्षण मञ्चका अध्यक्ष बालकृष्ण श्रेष्ठले बताए ।
भवन निर्माणको लागी बाग्मति प्रदेश सरकारले ५० लाखको बजेट उपलब्ध गराएको छ । गएको बर्षदेखि शुरु गरिएको कला संरक्षणको अभियान यस बर्ष भवन निर्माणसम्म पुगेको छ । पुराना संस्कृति, जात्राहरु, चाँडपर्व, कागेश्वरी मेला, स्थानीय जात्रा, गणेश भैरव जात्राहरु मनाउंदै आइरहेकामा अब त्यसलाई दस्तावेजीकरण गरेर संरक्षण गरिने मञ्चका अध्यक्ष श्रेष्ठको भनाई छ ।
भवन बनेपछि पुरानो कलाका सामगी, बाँसुरी, हार्मोनियम, तबला, खैजडी, मुकुट, गणेश भगवानको मुर्ती, भीमसेनको मुर्तीहरु राखिनेछ । मञ्चले बालबालिकाहरुका लागि सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु पनि गर्ने गरेको छ ।