सालिकमा पनि महाकवि देवकोटाका साथी भैरव अर्याल र रमेश विकल !

२३ असार, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका २ फुयालगाउँमा निर्माण गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक नजिकै हास्यव्यंग निबन्धकार भैरव अर्याल र साहित्यकार रमेश विकलको सालिक निर्माण गरिएको छ ।

शुरुमा महाकवि देवकोटाको मात्रै सालिक थियो । तर नेपाली साहित्यमा हास्यव्यंग निबन्धबाट अमर बनेका अर्याल र साहित्यकार रमेश विकलको योगदानलाई पनि जोडेर देवकोटाकै सालिक छेउमा दुई जनाको सालिक निर्माण गरिएको हो ।

देवकोटाका असल साथीहरु अर्याल र विकललाई सम्झनामा पनि सँगै राख्न एकसाथ तीन वटा सालिक देखिने गरी सालिक निर्माण गरिएको हो । यसै बर्ष हास्यव्यंग्य शिरोमणि अर्याल र आख्यान शिरोमणी विकलको सालिक निर्माण सम्पन्न भएको हो । फुयालगाउँमा झण्डै ३० लाखको लगानीमा सालिक निर्माण गरिएको कागेश्वरी मनहरा नगरपालिकाले जनाएको छ । गएको पुसदेखि शुरु गरिएको सालिक निर्माण बैशाखमै सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर कोरोना लगायतका कारण सालिक निर्माणको काम ढिलो गरी सम्पन्न गरिएको हो ।