मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । । कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको सरकारको भनाइ छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । लकडाउनका कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भएकाले यस्तो निर्देशन दिएको अधिकारीले बताए । काठमाडौं उपत्यकामा सोमबार एकै दिन ५४ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुर जिल्लामा १० जना संक्रमित भेटिएको जानकारी दिए। यी संक्रमित कुन कुन ठाउँका हुन् भन्नेबारे भने मन्त्रालयले खुलाएको छैन। हालसम्म २ लाख ५५ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ।