गुल्मी – अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लामा २ जनाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता बनेका छन् ।
बिहीबार मध्यराति आएको पहिरोमा परी इस्मा गाउँपालिका १ मल्दीका वसन्त सारुका १८ महिने छोरा सुरजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पहिरोमा परी इस्मा– १ अन्तर्गत निस्ती ढाँडफाँटकी सात वर्षीया अपिच्छा खत्रीको पनि मृत्यु भएको जानकारी दिइएको छ ।
पहिरोमा परेर घाइते बनेकी बालिकाकी आमा ईश्वरीलाई स्थानीयवासीले शुक्रबार बिहान ६ घण्टापछि जीवितै उद्धार गरेका थिए ।
ढाँडफाँटमा गए राति बस्ती माथिबाट पहिरो खसेको थियो । आमासँगै भाग्ने क्रममा बेपत्ता बनेकी बालिकाको शव फेला परेको हो ।
पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटलसमेत बगाएको छ । होटलमा बास बसेका मुसिकोट नगरपालिका –२ का भागीरथ घिमिरे सम्पर्कविहीन भएको स्थानीय बासीन्दाले बताएका छन् ।
पानी परिरहेका कारण अहिले पनि पहिरो खस्नेक्रम जारी छ । पहिराले सडक अवरुद्ध बनेका कारण घाइतेको उद्धारमा समस्या परेको स्थानीयवासीले बताएका छन् ।