कृष्णमणि भट्टराई काठमाण्डौ महानगरपालिका वडा नं ७ को वडा सदस्य हुनुहुन्छ । कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका उहाँ आफै सक्रमति हुनुभयो । तर अहिले कोरोना संक्रमणलाई उहाँले जितिसक्नुभएको छ । कागेश्वरी खबरका सहकर्मी रमिता दंगालले वडासदस्य भट्टराईसँग कुराकानी गर्नुभएको छ ।
तपाईंले आफूलाई कोरोना संक्रमण भएको कसरी थाहा पाउनुभयो ?
नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने भएकाले गएको बैशाखमा काठमाण्डौ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको कन्ट्याक्ट टेसिङ्ग भयो । त्यसबेला कोरोना रिपोर्ट नेगेटिभ आयो । त्यसपछि भदौमा फेरी कन्ट्याक्ट ट्रेसिङ्गमा परें । त्यसबेला पनि नेगेटिभ नै आएको थियो ।
तर असोजमा एकजना कर्मचारी साथीलाई कोरोना पोजिटिभ आएपछि फेरी जनप्रतिनिधि र कर्मचारी सबैको कन्ट्याक्ट ट्रेसिङ्ग भयो । असोज १९ गते कोरोना पुष्टि भयो तर रुघाखोकी र अरु केहि लक्षण देखिएको थिएन ।
पोजिटिभ आइसकेपछि के गर्नुभयो ?
कोरोना रिपोर्ट पोजिटिभ आइसकेपछि पहिला त डर नै भयो । त्यसपछि धेरै साथिहरुलाई थाहा भैसकेपछि तपाईंलाई त पोजिटिभ आएको रहेछ, एकदम सुरक्षित रहनु होला, स्वास्थ्य लाभको कामना भनेर साथीहरुले भन्नुभयो ।
मोबाइल नै अफ गर्नुपर्ने सम्मको अवस्था आयो । म आफैँले आत्मबल बढाउनुपर्छ भन्ने लाग्यो । मलाई त्यस्तो खालको श्वासप्रश्वासको समस्या पनि थिएन । मलाई अलि अलि ज्वरो र आँखा पोल्ने मात्रै भएको थियो । आराम गरे । खानपिनमा ध्यान दिए ।
खानपिनमा के कसरी ध्यान दिनुपर्ने रहेछ ?
सन्तुलित खानपान र घरेलु उपचार नै मैले गरेँ । घरेलु आयुर्वेदिक बेसार पानी, गेडागुडीका रस, प्रोटिन भएको खाना, भिटामिन डि र सी धेरै खाएँ । तातो झोलिलो खानुपर्छ । मैले त्यसै गरेको हो । केहि गाह्रो त भयो तर जुन खालको बजारमा हल्ला भएको छ, त्यति गाह्रो चाहिँ भएन । कोरोना लाग्यो भने आत्तिने होइन, बरु सजग नै बन्नुपर्छ ।
होम आइसोलेशनमा बस्दा अपनाइएको सतर्कता ?
मेरो रिपोर्ट पोजिटिभ आइसकेपछि श्रीमती र छोराको पनि कन्ट्याक्ट ट्रेसिङ्ग गराएँ । कन्ट्याक्ट ट्रेसिङ्ग गराउँदा छोराको नेगेटिभ र श्रीमतीको पोजिटिभ आयो । मेरो श्रीमतीलाई पनि पोजिटिभ आइसकेपछि हामी दुवै जना सँगै बस्यौं र खाइसकेपछि भाँडाहरु आफु आफुले नै माज्यौँ । बाबुलाई छुने कामहरु गरेनौँ । बाबु छुट्टै कोठामा बस्यो, हामी छुट्टै कोठामा बस्यौँ । सहज तरिकाले हामीले कोरोनालाई पार लगायौँ ।
कोरोना संक्रमण भइसकेपछि छिमेकी, साथीभाई, आफन्त र सँधै बोल्नेहरुको व्यवहार चाहिँ कस्तो पाउनुभयो ?
म एक जनप्रतिनिधि पनि भएकाले मैंले धेरै घटनाहरु सुनेको छु । पल्लो घरमा कोरोना लाग्यो रे तुरुन्तै आएर हस्पिटल लैजानपर्यो । यहाँ राख्न चाहिँ हुँदै हुँदैन भनेर ७ नम्बर वडाबाट धेरै फोन आएको छ । त्यसपछि उहाँहरुलाई यो त्यस्तो हैन, उहाँहरु सुरक्षित बस्नुहुन्छ भनेर चेतना फैलाउने काम गरेका छौँ । जब म आफैं संक्रमित भए, मलाई पनि ए यसलाई त कोरोना लागेछ भनेर छरछिमेक भरी हल्लाखल्ला भयो ।
कति साथीहरुले चाहिं तपाईंलाई केहि पनि हुँदैन, दुरी कायम गरेर हामी भेट्न नै आउँछौँ भनेर आउनुभयो । त्यसकारण यो मानिसहरुको सोंचको कुरा हो । नकारात्मक सोंच परिवर्तन गरी सकारात्मक बन्नुपर्छ । एउटा कुरा मैले पनि भोगेको छु, यो संक्रमण भएको हो हामीलाई नि सरिहाल्छ कि जस्तो गर्नुभयो तर सिधै चाहिँ भन्न सक्नुभएन । उहाँहरुको नेगेटिभ खालको सोंचहरु चाहिं मैले पाएँ ।
अरु संक्रमण भएर बस्नुभएकाहरुलाई तपाईंको सल्लाह, सुझाव के छ ?
म त भन्छु, पहिला आत्मबल बढाउनुहोस् । तपाईंहरु चिसो चिज केहि पनि नखानुहोस् । फ्रिजमा राखिएको खाने कुराहरु केहि पनि नखानुहोस् । तातो चिजहरु खानुहोस् । बिहान बेलुका बेसार पानी खानुहोस् । नियमित बाफ लिनुहोस् । तपाईंहरु गेडागुडीको रस खाने गर्नुहोस् । मांशहारी हुनुहुन्छ भने खसीको खुट्टाको सुपहरु खानुहोस् । यसो गर्यौँ भने सहज तरीकाले जित्न सक्छौँ ।
फेरी पनि मुख्य कुरा तपाईंहरु आत्मबल बढाउनुहोस्, आत्तिनु हुँदैन । तर हेलचेक्राईं चाहिं नगर्नुहोस् । अरुलाई पनि संक्रमण फैलिन सक्छ भनेर जिम्मेवार बनि मास्क लगाउनुहोस् । साबुन पानीले हात धुनुहोस् । सेनिटाइजर लगाउने जस्ता स्वास्थ्य सुरक्षा अपनाउन सकेमा कोरोनालाई सहज तरिकाले जित्न सकिन्छ ।