रामेको निधार लगातार 6 बर्ष खाली
तर मलाइ चैं दिदिबहिनीको ताली नै ताली।।
कि त रामेको नियतिमा खोट हुनुपर्छ
कि त गरिबी को चोट हुनुपर्छ
होइन भने दोषी त्यही कट्कटाउदो नोट हुनुपर्छ ।।
मलाई चैं दिदीबहिनीको ताली नै ताली
तर मेरो सोझो रामेको निधार दिदिबहिनी हुँदाहुँदै लगातार 6 बर्ष खाली ।।
रामेले घरको छानो राम्रोसँग छाउँन सकेनन् रुपैया पैसा बोकी सहर तिर आउँन सकेनन्।
समुन्द्र पारी नै त होइनन् दिदीबहिनी तर बाध्यता भनौ अथवा विडम्बना रामेको घरको आगनीमा आउँन सकेनन् ।।
खोला वारि का खोला पारी गए
खोला पारिका खोला वारि आए ।।
आफ्ना रगतहरु टाढा टाढा गए
पराई रगत गाढा गाढा भए ।।
सम्बन्ध यहाँ इज्जत र पैसाले धानेको हुनसक्छ,
मलाई त दिदिबहिनीको ताली नै ताली हजुर तर मेरो सोझो रामेको निधार धेरै जसो खाली ।।
बेलैमा रामेले पढ्न सकेनन् सफलताको भर्याङ चढ्न सकेनन् कि त भाग्यको दोष हुनुपर्छ
कि त नियतिको खोट हुनुपर्छ कि त च्यातीएको कोट हुनुपर्छ होइन भने दोषी त्यही कट्कटाउदो नोट हुनुपर्छ।।
म त भाग्यमानी हजुर ,
दिदिबहिनी को ताली नै ताली ।
तर मेरो सोझो रामेको
दिदिबहिनी हुँदाहुँदै निधार खाली।
मैंले त कसैको साहारा पाएँ
मीठो मसिनो आहारा पाएँ ।
कुरा गर्ने उनको शैली भएन
सुखमा सबैको साथ मिल्न सक्छ,
तर दुखमा पहिला साथ भएन।।
बेलैमा धन कमाउन सकेनन्
दुखमा रमाए तर सुखमा रमाउन सकेनन्।।
केही बर्ष तिहारमा निधार खाली भए
आफ्नाहरु केही जाली भए।
तर पनि आज खुसी नै छन
रामबहादुर पराई ठानेकाहरु नै ,
झरी पर्दा ओत लाग्ने पाली भए ।।
कि त नियतिको खोट हुनुपर्छ
कि त गरिबीको चोट हुनुपर्छ
दोष यहाँ कसैको छैन हजुर
कि त त्यही कट्कटाउदो नोट हुनुपर्छ।।
मलाई भने दिदिबहिनीको ताली नै ताली
तर विडम्बना मेरो रामे को दिदिबहिनी
हुदा हुँदै कयौं बर्ष निधार खाली।।
नवराज प्रसाईं









