रमिता दंगाल/ कागेश्वरी खबर
हुन त आज कुशे औँसी : पवित्र दिन अर्को अर्थमा बुबाको मुख हेर्ने दिन । घर–घरमा खुसी छाउने दिन । धर्मग्रन्थ अनुसार आज विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। त्यस्तै, आज आफ्ना छोराछोरीहरूले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशिर्वाद प्राप्त गरेमा सुख मिल्छ ।
सबैको खुसी हुने दिन आज अर्थात औँसीको दिन । हामी औँसी भन्ने वित्तिकै अध्यारो भन्ने बुझ्दछौँ । सबैलाई पूर्णिमा मन पर्दछ, चाहे त्यो मनमा होस् वा जीवनमा, अन्धकार कसलाई मन पर्ला र ? त्यसमाथि यसै दिन जीन्दगीमा कहिले नमटिने घाउँ भएमा त्यो औँसी कति पिडा दायक होला, त्यो भोग्ने लाई नै थाहा होला। त्यसमाथि, सबैभन्दा प्रिय, आत्मिय, मायाको महासागर वा भनौँ सामान्य अर्थमा आफू मरेर पनि जन्म दिने आमा गुमाउने पर्ने दिन कस्तो होला ? यो दिन मेरो जिवनमा सधैँलाई औसीँ बनेर, अन्धकार छायो वा भनौँ औसीँ प्रति सधै आक्रोश भयो । औसीँ सम्झने वित्तिकै पीडा महसुस हुन्छ, मुट पोल्छ, शरिरमा उकुसमुकुस हुन्छ । आज यो उमेरसम्म आइपुग्दा, कति दुःख, पीडा भोगियो होला तर त्यो दिन सम्झदा जस्तो सन्नाटा जीवनमा कहिले छाउँदैन ।
जीवनमा कति खुसी आए होलान्, आउँछन् होला, तर म २०५६ सालको बुबाको मुख हेर्ने दिन अर्थात कुशे औँसी म कदापी भुल्ने छैन् वा भनौं मैंले चाहेर पनि भुल्न सक्ने छैन् । मैंले न्यानो स्पर्शले चिनेको मेरो आमा, कसैलै नचिन्दा पनि मैंले अरुलाई कोहो भनेर नथमाउँदा पनि मैले मेरो आमालाई चिनेको छु, जतिबेला म भर्खर केही पाइला दुई खुट्टामा उभिएर हिंड्दै थिएँ , केही शब्द तोते बोलीमा बोल्दै थिए । यो प्रत्येक छोराछोरीले कसैले जीवनमा सबैभन्दा पहिला चिन्ने पनि आमा नै हो । त्यही आमा मैले आकृतिमा चिन्न नपाउँदै यो संसारबाट विलिन हुनु भयो । कहिल्यै नफकिर्ने गरि । त्यसमाथि पनि आमाको केही सम्झना नछोडि । थाहा छ त, त्यहि स्पर्श, अज्ञानि बोध जो दुधको सुनन्ध मात्र छ, त्यहि मेरो आमा भन्ने मात्र चेत छ । दुई बर्षको बच्चालाई के कति नै याद हुन्छ र ?
जुन दिन मेरो आमा मबाट विलिन हुनु भयो, के पाप गरे, त्यो मलाई अझै पनि थाहा छैन् । भनिन्छ अन्जानमा गरिएको गल्तिको त सजाय माफ हुन्छ रे । मैले के गल्ति गरे र मेरो आमा म बाट यो संसारबाट विलिन हुनु भयो । यसो उत्तर थाहा छ, यो सास रहुन्जेल अनुत्तरित हुनेछ । कहिले कहीं त लाग्छ दुई जना दिदि र दाई हुँदा हुँदै म नजन्मेको भए नि हुने।
संसार भनेको बाँच्नु रहेछ, भोग्नु रहेछ, संघष गर्नु रहेछ, सुख–दुःख अनुभव गर्नु रहेछ, जीवनका विभिन्न रसको अनुभव गर्नु रहेछ । त्यसैले त म यहाँ छु । अझ भनौँ आमा पछि आमाको जस्तै स्याहार सुसार पाएर आज म यहाँ सम्म आईपुगेको छु । अझ भनौँ यति लेख्न सक्ने भएको छु । आमाले मेरो जिम्मा मेरी ठूली दिदीलाई लगाउँदा उहाँ ११ वर्षको मात्र हुनुहुन्थ्यो । त्यसमाथि उहाँ मुनी तीन जना र म माथि अर्को दिदी र दाई । म सबै भन्दा कान्छी थिएँ। सबैको प्यारी पनि। उहाँको योगदान, संघर्ष र हामीलाई लालन पोषणमा गर्नुभएको त्यो कर्म कुनै बेला अर्को लेखमा लेखौला। आज यो लेखमा अपुरो होला भनेर लेखिन् । माफ गर्नुहोला ।
मेरो रेखदेख र लालनपालन सजिलो होला भनेर मलाई मामा घरमा लैजानु भएको रहेछ । हुर्के, मेरो मामाघर सिन्धुपाल्चोकको ग्याल्थुम भन्ने ठाउँमा । जब म ७ वर्षमा टेक्दै थिए मलाई फेरी घर नै लेराउनु भएको थियो।
फेरी पनि भन्न मन लाग्छ, मसँग मेरो आमालाई सम्झिनको लागि केहि पनि याद र पलहरु छैन। यहाँ सम्म कि मलाई मेरो आमा कस्तो हुनुहुन्थ्यो उहाँको अनुहार समेत याद छैन । यसो भन्दा कसैले भन्ने गर्थे, तेरो आमाको अनुहार तेरो माइली दिदीसँग मिल्छ । तर के गर्नु, मन त मन हो नी, माइली दिदी मेरी दिदी न पर्नुभयो, आमा त होइन नी, आमा भनेको आमा नै हुन्छ नि । म जस्तो आमाको महत्व थाहाँ नपाउँदै गुमाउने त आमालाई भुल्न सक्दैन भने, आमाको हाउँभाउँ, आकृति थाहा हुनेलाई के हुन्छ होला, यो मेरो कल्पना भन्दा बाहिरको कुरा हो । म जस्तो अभागी को होला र, म सँग अहिले आमालाई ‘मिस’ गर्न लाई केही पनि छैन् । मैले खोज्ने आमाको आकृति, सम्झना भनेकै आकाशको तारा हो ।
हुन त संसार व्यक्तिवादी भईरहेछ र उत्तरआधुनिक सिद्धान्तमा रमाइ रहेको छ । अरुले जति नै माया गरे पनि आमाको मायाको अभाव सँधै हुने रहेछ। हुन त अरुको मलाई गरेको माया पनि विशिष्ट नै थियो होला तर पनि यो आत्माले निस्वार्थ रहेछ भनेर मुल्याङ्कन गर्न नै सकेन । सायद यसमा मेरो गल्ति पनि हुन पनि सक्छ, मैंले मूल्याङ्कन गर्न गल्ति गरेको पनि हुनसक्छु । हुन पनि हो अरुले किन आमाको जस्तो माया गर्ने हैन र रु आमाको जस्तो माया अरुबाट खोज्नु मेरो नै गल्ति हो। प्रेम सबैले गर्दछन् , त्यो आमाबाटै सिकिन्छ, जहाँ कुनै स्वार्थ हुँदैन्, नाफा–घाटाको मुल्याङ्कन हुँदैन। गहिरो प्रेमको औचित्य पनि आमालाई नै थाहा हुन्छ। ९ महिना लामो आन्तरिक संघर्ष र प्रसव पीडालाई आमाको सबैभन्दा ठूलो सहनशक्तिको मानक मानिन्छ। एउटा सन्तान जन्मिदा हजारौं कोषिका चुडिएको कठोर पीडालाई आमाले सन्तानको मधुर चिच्याहटमा भुलिदिन्छिन्।
”आमा” आह ! शब्द आफैंमा कति प्यारो छ। कति आनन्द महसुस हुन्छ। यो यस्तो शब्द जो उच्चारण गर्दा उच्च सम्मान र महसुस गर्दा न्यानोपनको आभाष हुन्छ । सन्तानले आफू धर्तीमा आइसकेपछि सम्भवत् उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । शास्त्रमा आमालाई पिताभन्दा पनि धेरै माथिको ओहोदोमा राखिएको छ। संसारको सबैभन्दा पवित्र नाता आमा र पवित्र सम्बोधन पनि आमा भनेर उल्लेख छ ।
मलाई ‘आमा’ शब्द संसार कै सबै भन्दा प्यारो लाग्छ। आमा शब्द आफैँमा पूर्ण र भरिपूर्ण मात्र होइन, सम्पूर्ण पनि हो । आमा शब्दका अगाडि ममतामयी, स्नेही, पूजनीय आदिजस्ता विशेषणको पनि कुनै अर्थ नहुने रहेछ ।कसैले आफ्नो आमालाई आमा भनेर बोलाएको सुन्दा मलाई पिडा हुन्छ, डाह, इर्श्या लाग्छ। कोहि पनि बच्चा टुहुरो नहोस। आमा बिनाको जिबन साँच्ची कै धेरै गाह्रो हुन्छ। यदि अहिले मसंग मेरो जन्म दिने आमा हुनु भएको भए कस्तो हुन्थ्यो होला मेरो जिबन मैंले कल्पना समेत गर्न सक्दिन। मेरी आमा जहाँ भए पनि मेरो सायद मसंगै हुनुहुन्छ। मलाई हेरिरहनु भएको होला । हजुर जहाँ भएपनि हरेकपल एकदमै मिस गरिरहेको छु। जति ठुलो हुँदै गयो त्यति नै सम्झना आउने रहेछ।
अन्त्यमा आज कुशे औंसी र बुबाको मुख हेर्ने दिनमा सबै बुवा र छोराछोरीलाई शुभकामना !!