होलीमा सँधै यसरी नै हिंड्न पाइयोस्, एक्लै हिंड्दा सुरक्षित महसुस गरें

यमुना सापकोटा

हरेक वर्षको फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होलीलाई फागु पर्व पनि भन्ने गरिन्छ । आज चैत्र १५ गते पहाडी जिल्ला तथा उपत्यकामा हर्षउल्लासका साथ होली मनाइँदै छ । यस पर्वमा विभिन्न प्रकारका रंगहरु एकआपसमा दलेर आत्मियता साटासाट गर्ने, बालबालिकाहरुले पानीमा रंग घोलेर पिचकारीले रंग घुलेको पानी छरेर रमाइलो गर्ने प्रचलन रहँदै आएको छ। होली पर्व कोरोनाका कारण गत वर्षझैं खल्लो महसुस गरिएको छ। गत वर्षहरुमा ठाउँठाउँमा विभिन्न जमघट र भिडभाडका कारण सांगीतिक कार्यक्रम गर्दै मनाइने गरिएको होली पर्व यसपालि भने एकदमै कम जमघट र पातलो भिडबीच मनाइँदै छ ।

हुन त यो रमाइलो चाड हो तर मान्छेहरुले गर्ने अमानविय व्यवहार देख्दा होली कहिल्यै नआए हुन्थ्यो जस्तो लाग्थ्यो। केही वर्ष अघिसम्म काठमाण्डौ उपत्यकाको होली सकसपूर्ण थियो । पानी पोखिएका चिसा सडक तथा सडकमा यत्रतत्र छरिएका प्लास्टिकका टुक्रा सर्वसाधारणको त्रासका कारण बन्ने गर्थ्यो ।

यतिमात्र होइन जथाभावी लोला हान्ने, छतबाट फोहोर पानी खन्याउने र जबरजस्ती अविर दलि दिनेजस्ता विकृतिका कारण होलीका दिन घरबाहिर निस्कनै गाह्रो पर्ने गरेको थियो । विशेषतह होलीमा केटी मान्छे केटाबाट बढी नै जोगिनु पर्ने हुन्थ्यो जसकारण उनिहरुबाट जोगिने सुरमा होली मनाउँदाको खुसी नै हराउँथ्यो। प्राय: केटिहरु त होली भन्ने बित्तिकै तर्सिने गर्थे । त्यति मात्र नभएर उनीहरु घरबाट बाहिर निस्कन पनि चाहाँदैनन् थिए।

संस्कृतिका नाममा विभिन्न विकृतिहरु भित्रिने गर्दछन्। मौकाको फाइदा उठाउन पल्केका र आपराधिक मानसिकता भएका व्यक्तिहरुले यसै अवसरलाई उपयोग गरेर विभिन्न अपराधजन्य क्रियाकलापहरु गर्ने गर्दछन् । जसबाट संस्कृतिमाथि नै आँच आउँछ र बिस्तारै संस्कृति नै लोप हुन सक्ने डर बढ्दै जान्छ । होली पर्वमा पनि संस्कृतिभन्दा विकृति नै बढी देखिने भएकाले चिन्ताको विषय बन्ने गर्थ्यो।

होलीको अवसरपारि धेरैजसो पुरुषहरुले रंग लगाउने बहानामा महिलाहरुलाई बढी लक्षित गर्ने गर्थे, टीकामात्रै लगाईदिन्छु भनि अनुमति लिएता पनि बिस्तारै बिस्तारै रंग लगाउँदै गर्दा बलपूर्वक भनौँ या जर्बरजस्ती महिलाहरुका संवेदनशील अङ्गहरुमा छुने र लोला र पिचकारीले महिलाहरुको संवेदनशील अङ्गमा पर्ने गरी हान्ने समेत गर्थे । यति मात्र नभई कतिपय पुरुषहरु त अझ महिलाहरु होली खेलिरहको समूहमा बिना अनुमति प्रवेश गर्ने तथा विभिन्न प्रकारका अश्लीलता प्रदर्शन गर्ने समेत गर्दथे।

तर समयको अन्तरालसँगै होली मनाउने शैली निक्कै फेरिसकेको छ । जबर्जस्ती लोला हान्ने, पानीले भिजाउने, रंग छ्याप्ने क्रम केही हदसम्म घटेका छन् भने त्यस्तै अर्को पक्ष भनौँ होली पर्वको बहानामा दुर्व्यवहार गर्ने हातहरु पनि घटेका छन्। मानिसहरू अहिले आफैं सचेत भएर साथीभाईसँग मात्र रंग खेल्ने, चिनेजानेसँग मात्र पानी छ्यापा छ्याप गरेर रमाइलो गर्न थालेका छन् । अहिले सडकमा निस्केर एकअर्कालाई ‘ह्याप्पी होली’ भन्दै रंग लगाइदिने चलन छ । यसरी होलीको विकृति घट्दै जानुका पछाडि मानिसमा बढेको जनचेतना पनि एक कारण हो।

कतै-कतै होली खेले पनि एक आपसमा मात्र मिलेर खेलिरहेका थिए। पहिले पहिलेको बर्षहरुमा बाटोमा हिंड्ने अपरिचित मानिसहरु जसलाई पनि होलीको रंग लगाईदिने, लोला हान्ने गरिन्थ्यो तर यस बर्ष होलीमा बिहान कामको लागि माकलाबारीबाट चाबहिल आउँदै गर्दा मैंले धेरै भिन्न महशुस गरें। मानिसहरुले जबर्जस्ती लोला हान्ने, पानीले भिजाउने, रंग छ्याप्ने गरेका थिएनन्। अझ भनौं त एक केटि मान्छे होलीको दिन यसरी हिंड्नलाई गाह्रो हुन्थ्यो तर अहिले भने त्यस्तो कुनै समस्या थिएन । होलीको दिन एउटा केटि मान्छे एक्लै हिंड्दा पनि सार्है सुरक्षित महसुस गरें।

[sidebar name="button post"]