आजका मुख्य समाचारमा
नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा ३४८८ मा पिसिआर गर्दा १०४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरु यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउने तर्फ लाग्ने बताउनुभएको छ ।
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधनलगायत आफ्ना माग पूरा भएमा मात्रै सत्ता साझेदारीबारे सोच्न सकिने बताउनुभएको छ ।
कैलालीकाे धनगढीस्थित प्रदेश कार्यलयमा नेकपा एमालेको बोर्ड राख्ने विषयमा दुई समूहका कार्यकर्ताबीच झडप भएको छ । प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा एमालेको केपी ओली र माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको हो ।
भारतमा गत २४ घण्टामा १७ हजार ९२१ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख ६२ हजारभन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।
चिनियाँ अधिकारीहरुले यहाँ स्थानीय स्तरमा नै सङ्क्रमित भएका कोरोना सङ्क्रमित भेटिएका छैनन् । यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार सो जानकारी दिएका हुन् । उनीहरुले मंगलबार चीनमा देशभित्रै सङ्क्रमण सरेका सङ्क्रमित नभेटिएको बताएका छन् ।
ब्राजिलमा मङ्गलबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट करिब दुई हजार व्यक्तिको मृत्यु भएको बताइएको छ । ब्राजिलमा कोरोना महामारीका विरुद्धमा लड्नको लागि अस्पताल र खोपहरुले विस्तारै प्रगति भएको समाचारमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका छन् । प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रधानमन्त्री बाहिरिएका हुन ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरुसँग पहिलो पटक संयुक्त वार्ता गर्न लाग्नु भएको छ । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने गरिन्छ ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानाको विकल्प अब नभएको बताउनुभएको छ । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै निर्वाचनको विकल्प नरहेको विचार राख्नुभयो ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ८६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाण्डौ महानगरपालिकामा कार्यरत एक हजार ५५० कर्मचारीलाई एक तहमाथिको पदमा समायोजन गरिएको छ । यही फागुन ४ गते बसेको कामपाको विशेष नगरसभाबाट पारित भएको ‘काठमाण्डौ महानगरपालिका कर्मचारी समायोजन ऐन– २०७७’ बमोजिम सबै कर्मचारीको समायोजन गरिएको हो ।
किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ ।