२६ फागुन, काठमाण्डौ। सर्वोच्च अदालतले २३ फागुनमा साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि नेकपा खारेज भइसकेको छ। यस्तो अवस्थामा तत्कालीन माओवादी केन्द्रबाट एमालेतर्फ लागेका नेताहरुलाई सम्मानजनक हैसियत दिने तयारी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले गरेका छन्।
ओलीले माओवादी केन्द्रका नेताहरूलाई नेकपा ‘एमाले’ मा सम्मानजनक स्थान दिने तयारी थालेका हुन् । सोही अनुसार गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ लाई एमालेको उपाध्यक्ष बनाउने तयारी भइरहेको स्रोतको भनाइ छ।
बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरीसहितका नेताहरुलाई एमालेमै राख्ने गरी ओलीले तयारी गरेका छन् । जसअनुसार बादललाई उपाध्यक्षको जिम्मेवारी दिन लागिएको हो । काठमाण्डौमा भएको नेकपा एमालेको नवौँ महाधिवेशनबाट उपाध्यक्ष बनेकी विद्या भण्डारी अहिले राष्ट्रपति भएकी छन् । विद्या राष्ट्रपति भएपछि रिक्त उक्त स्थानमा बादललाई लाने तयारी गरिएको हो ।
माओवादी केन्द्रका सांसदहरू पुष ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको पक्षमा उभिएका थिए । उनीहरू सबैलाई ओलीले मन्त्री बनाएका छन् । अहिले पूर्वमाओवादीका प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा मन्त्री छन् ।
नेकपा एमालेको विधानमा अन्य पार्टीबाट आउनेका लागि २० प्रतिशतसम्म केन्द्रीय सदस्य बनाउने व्यवस्था छ । त्यही अनुसार नै अहिले माओवादी केन्द्रका नेता तान्ने रणनीति एमालेले अख्तियार गरेको हो ।












