समिता श्रेष्ठ
काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि ४ वटा वडामा कम्पोष्ट बिन वितरण गरेको छ । नगरबासिहरुको कौसी खेतीलाई मध्यनजर गरि कम्पोष्ट मल बनाउन ५० प्रतिशत अनुदानमा कम्पोष्ट बिन वितरण गरिएको हो । नगरपालिका भित्रका वडा नम्बर ५ देखि ९ सम्म फोहोर संकलन गर्ने गरी कम्पोष्ट बिन वितरण गरेको कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले बताउनुभयो ।

कौसीखेतीलाई प्रोत्साहन
फोहोर संकलन गरी मल बनाउने र त्यसलाई आफैले पनि प्रयोग गर्न सकिन्छ । कतिपय जग्गा जमिन हुनेहरुले घरभित्र संकलन भएको फोहोरलाई त्यहि व्यवस्थापन गर्न सक्छन् । तर काठमाण्डौमा खेतियोग्य जमिन घर तथा संरचना बनेपछि नासिदै गएको छ । आफ्नो जग्गा जमिन नहुनेहरुले पनि फोहोर व्यवस्थापन गर्न सक्ने गरी घरको छत तथा बरण्डामा खेती गर्न सक्छन् ।
त्यसका लागि कम्पोष्ट बिनमा संकलन गरेको फोहोरलाई प्रयोग गर्न सकिन्छ । ‘जग्गा जमिन नभएका तर कौसीमा खेती गर्न चाहनेहरुका लागि मल बनाउन कम्पोष्ट बिन गरिएको हो’ प्रवक्ता पुडासैनीले भन्नुभयो,‘आफ्नो घर भित्रबाट निस्केका कुहिने फोहोरमैलाको उपयोग गरि तरकारी उत्पादन पनि हुने र फोहोर व्यवस्थापन पनि हुने भएकाले फाइदा छ ।’
तालिमको व्यवस्था
यो मुख्य रुपमा घना बस्ती र सहरी परिवेश भएको वडालाई लक्षित गरि ल्याइएको कार्यक्रम हो । फोहोर संकलनका लागि भाँडो (कम्पोष्ट बिन) वितरण गर्नु अगाडि अर्गानिक कम्पोष्ट मल बनाउनका लागि नगरका महिलाहरुलाई समूह गठन गरि तालीम पनि दिईएको थियो । तालिमपछि डस्बिन बितरण गरिएको हो ।
अहिलेसम्म वडा नम्बर ५, ६, ७, ८, ९ मा वडा समुह बनाएर तालिम दिईसकेको र माग अनुसार तालीम सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । समूहलाई लक्षित गरि तालीम दिन पनि सजिलो र सहभागीता जुटाउन पनि सजिलो हुने प्रवक्ता पुडासैनीले बताउनुभयो ।
फोहोर व्यवस्थापनमा सहकार्य
कागेश्वरी मनोहरा नगरपालिकाकाले फोहोर व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गर्दै आइरहेको छ । कम्पोष्ट बिन वितरणको काम पनि निजी क्षेत्र सँगको सहकार्यमा भएको हो । नगरपालिकाले निजी क्षेत्रलाई क्षेत्र÷क्षेत्र छुट्याएर फोहोर संकलन, व्यवस्थापन र रकम लिने जिम्मा दिएको छ । निजी क्षेत्रले हरेक घरधुरीबाट १ सय ५० देखि एक हजार रुपैयाँसम्म उठाउने गरेका छन् ।

हरेक घरधुरीको फोहोरको आधारमा कुहिने, नकुहिने गरि व्यवस्थापन गरेको १ सय ५० देखि एक हजार रुपैयाँसम्म लिन सक्ने अधिकार नगरपालिकाले दिएको छ । त्यसैअनुसार घरबाट निस्कने कुहिने फोहोरलाई १ सय ५० र उद्योग कलकारखानाबाट निस्कने नकुहिने फोहोरको एक हजारसम्म निर्धारण गरिएको हो ।
अहिलेसम्म फोहोर व्यवस्थापनमा खासै समस्या नभएपनि निजी क्षेत्रले कुनै÷कुनै ठाउँमा बढी रकम उठाएको गुनासो आउने गरेको र त्यसको लागि पनि नगरपालिकाले नियमित अनुगमन तथा नियन्त्रण गर्ने गरेको प्रवक्ता पुडासैनीको भनाई छ ।








