बर्षातको समयमा चाबहिलको गोपीकृष्ण हलको आसपास, सरस्वतीनगर, कपनको मिलनचोकलगायत क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेका छन् ।
वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरेका छन् भने विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको पसल डुबानमा पर्ने गरेको छ । सडकको किनारबाट उचित कटान नहुनु तथा ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारणले पनि यस क्षेत्र जलमग्न बन्ने गरेको छ र पसल डुबानमा पर्ने गरेका छन् ।
चाबहिलको गोपीकृष्ण हल नजिक ढल भत्किएर सडकबाट नहरमा झैँ पानी बग्ने गरेको छ । कालोपत्र गरेको सडक ढलको पानीले भत्काइसकेको भन्दै स्थानीयवासीले गुनासो गर्न थालेका छन् ।
धेरैपटक यहाँको स्थानीयवासीले सम्बन्धित निकाय तथा जनप्रतिनिधिसँग मर्मत तथा स्तरोन्नतिको माग नराखेको पनि होइन तर हुन्छ भन्ने, काम नगर्ने प्रवृत्ति रहेको देखियो ।” ठूलो पानी पर्दा सडकमा खोला नै बग्छ ।
लामो समयदेखि खनेको ढलको खाल्डो र यसैबाट बनेको हिलो र चिप्लोबाटो माथि बग्ने पानीको भलले यहाँका स्थानीयवासी आजित बनेका छन् । कपन मिलनचोकमा रहेको तरकारी बजार हुँदै आकाशेधारा पुग्ने सडकको दयनीय अवस्थाका कारण तरकारी व्यवसाय नै चौपट भएको भन्दै व्यापारीको गुनासो छ ।
यसरी सडकको सास्तीले दिनहुँ हैरानी खेप्नुपरेको स्थानीयवासीको समयमै सडक बनाएर सुविधा दिनुपर्ने माग छ तर जनप्रतिनिधि तथा ठेकेदार कम्पन्नीले भने विभिन्न कारण देखाउँदै स्थानीयवासीको मागको बेवास्ता गर्दै आएका छन् । सरकारले सडक निर्माण सम्पन्नका लागि उपयुक्त निर्णयका साथ निर्माणकार्य अगाडि नबढाउने हो भने यहाँका स्थानीयवासीले अझै केही वर्ष अहिलेकै अवस्थाको सडक व्यहोर्नुपर्ने स्थिति छ ।