२५ चैत्र, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो ।
अहिले पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । देशका केही स्थानहरूमा तुँवालो लागेको छ । बिहीबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी क्षेत्रमा मौसम आंशिक बदली रहने छ।
त्यस्तै प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हतिर मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
यसैगरी राति देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी क्षेत्रमा मौसम आंशिक बदली हुनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।









