आस्ट्राजेनेका खोप लगाएपछि रगत जम्ने अस्वाभाविक अवस्थालाई दुर्लभ असरका रूपमा सूचीकृत गर्न सुझाव

२६ चैत्र, एजेन्सी। असामान्य रुपमा देखिने ब्लड क्लट्सलाई कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपको अति दुर्लभ ‘साइड इफेक्ट’ का रुपमा सूचिकृत गर्नु पर्ने विज्ञले बताएका छन् ।

युरोपियन युनियनको औषधि नियामक निकायले कोभिड–१९ खोपको निकै दुर्लभ अर्थात अति कम मात्रामा हुने साइड इफेक्टका रुपमा ब्लड क्लट्सलाई राखिनु पर्ने बताएको हो ।

युरोपमा खोप लगाएपछि देखिएको ब्लड क्लट्सका ८६ घटनाको अध्ययन गरेर युरोपियन मेडिसिन्स एजेन्सी (इएमए) ले खोपबाट हुने सकारात्मक फाइदाको तुलनामा साइड इफेक्ट निकै नगन्य रहे पनि दुर्लभ साइड इफेक्टका रुपमा सूचिकृत गरिनु पर्ने निष्कर्ष निकालेको हो ।

इएमएले ब्लड क्लट्सको जोखिम कुन उमेर समूह वा लिंगका व्यक्तिमा हुन्छ भन्ने खुलाएको छैन । तर अहिलेसम्म देखिएका घटना अनुसार ब्लड क्लट्स विकास हुनेमा अधिकांश ६० वर्ष मुनिका महिला छन् ।

यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार ब्लड क्लट्सका घटना खोपसँग जोडिएको भए पनि पुष्टि नभएको र यस्ता घटना निकै दुर्लभ रहेकाले खोपमा शंका नगर्न भनेको थियो । विश्वभर हालसम्म २० करोड भन्दा धेरैमा सो खोप लगाइएको छ ।

कोरोना भाइरसविरुद्धको यो खोप र वयश्कहरुमा देखिएको दुर्लभ प्रकारको ब्लड क्लट्सको सम्बन्धबारे भइरहेको अनुसन्धान नसकिएसम्मका लागि बालबालिकामा खोपको परीक्षण रोखिएको हो ।

[sidebar name="button post"]