Ad #144479

२४ पुष, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा कैलालीको धनगढीमा विद्यार्थी नेताले टायर बालेर प्रदर्शन गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहका विद्यार्थी नेताहरुले ओलीविरुद्ध धनगढीमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्च नजिक अनेरास्ववियूका कार्यकर्ताले शुक्रबार बिहान टायर बालेर प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री ओलीलाई विद्यार्थी नेताहरुले ६ ठाउँमा कालोझन्डा देखाउने कार्यक्रम छ ।

प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक धनगढी लैजान लागेका हुन् । उनी यसअघि उपत्यका बाहिर गएका थिएनन् । ओली धगनढी जाने भएपनि सुदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बहिष्कार गर्नेछन् ।

बिहानैदेखि धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ । सडकमा बाक्लो रुपमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । मुख्यमन्त्रीसहित अरु मन्त्री पनि ओलीलाई स्वागत गर्न विमानस्थल जाने छैनन् । प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताको विरोध र प्रदर्शनले ओलीको सुरक्षामा चुनौति थपिएको छ ।