२४ पुष, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले व्यवस्थित ढङ्गले शक्ति हस्तान्तरण गर्ने वाचा गरेका छन्। उनका समर्थकहरूले अमेरिकी संसद् भवनमा हुलदङ्गा गरेको एक दिनपछि ट्रम्पले यस्तो वाचा गरेका हुन् ।
ट्विटरमा १२ घण्टे प्रतिबन्ध झेलेपछि भिडिओमार्फत् सोही सामाजिक सञ्जालमा देखिएका रिपब्लिकन राष्ट्रपति ट्रम्पले दङ्गाकारीहरूको आलोचना गर्दै जघन्य हमला बताएको बीबीसीले उल्लेख गरेको छ ।
आफ्नो कार्यकाल सकिन लागि १३ दिन मात्र बाँकी छँदा वरिष्ठ डेमोक्र्याटहरूले उनलाई पदबाट हटाउने कुरा गरिरहँदा ट्रम्पले मुख खोलेका हुन्। उनको उक्त अभिव्यक्तिलाई नोभेम्बरमा चुनाव हारेपछिको पहिलो सार्वजनिक स्विकारोक्तिका रूपमा हेरिएको छ। नोभेम्बरमा उनले राष्ट्रपति-निर्वाचित जो बाइडनप्रति लक्षित ट्वीट गर्दै हार अस्वीकार गरेका थिए।
भिडिओ सन्देशमा ट्रम्पले कङ्ग्रेसले नतिजालाई प्रमाणिकरण गरिसकेकाले २० जनवरीमा नयाँ प्रशासनले काम थाल्ने बताएका छन्। मेरो प्राथमिकता अब सहज, व्यवस्थित र निर्वाध रूपमा सत्ता हस्तान्तरणमा हुनेछ। यो अवस्थाले निदान र मेलमिलाप खोजेको छ।
अमेरिकी कङ्ग्रेसका वरिष्ठ डेमोक्र्याटिक नेताहरूले उपराष्ट्रपति माइक पेन्सलाई संविधानको २५औँ संशोधन लागु गर्न आह्वान गरेका छन्। उक्त संशोधनमा राष्ट्रपतिलाई काम गर्न असक्षम भन्दै हटाउन सक्ने व्यवस्था छ। अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले बुधबार क्यापिटल हिलमा भएको विद्रोहका लागि ट्रम्पलाई जिम्मेवार ठहर्याउँदै उनीमाथि शाब्दिक हमला गरेका छन्।
उनले बुधवार अमेरिकी इतिहासकै अध्यारो दिन भएको बताउँदै राष्ट्रपति ट्रम्पले ुगएका चार वर्ष प्रजातन्त्र र कानुनी शासनको मानमर्दन गर्नमा बिताएको बताए। उप-राष्ट्रपति माइक पेन्ससहित केही नेतृत्वदायी रिपब्लिकनहरू ट्रम्पबाट टाढिएका बेला बाइडनको यस्तो प्रतिक्रिया आएको हो।












