Ad #144479

१३ पुष, काठमाडाैं । नेपालको चार दिने भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोली आज दोस्रो दिन बिहानै खुमलटार पुगेकाे छ । खुमलटारमा अहिले नेकपा ‘प्रचण्ड-माधव पक्ष’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ टोलीको भेटवार्ता भइरहेको छ ।

प्रचण्डलाई भेटेपछि आजै अर्का अध्यक्ष माधवकुमार नेपाललाई चिनियाँ टोलीले भेट्दैछ ।  आइतबार काठमाडौं उत्रिएलगत्तै उक्त टोलीले दूतावासमा ब्रिफिङ लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरिसकेको छ । टोली आज दोस्रो दिन पनि राजनीतिक भेटवार्तामा व्यस्त हुने भएको छ ।

नेकपा विवाद र संसद विघटनपछि नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो । नेपाल आएलगत्तै टोलीले उच्चस्तरीय भेटघाट सुरु गरेको हो ।

चिनियाँ राजदूत होउ यान्छीको अथक प्रयासपछि पनि नेकपा विभाजन भएको एक सातामा चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका नेता आउनुपूर्व नेपालका लागि चिनियाँ राजदूत यान्छीले राष्ट्रपति भण्डारी र नेकपाका चार नेतासँग भेट गरेकी थिइन् ।

संसद् विघटन भएको दुई दिनपछि राजदूत यान्छीले ७ पुसमा शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी थिइन् । बिहीबार नेकपा अध्यक्ष प्रचण्ड र अपराह्न नेता वर्षमान पुनसँग भेटेकी उनले शुक्रबार अर्का अध्यक्ष माधवकुमार नेपाल र नेता कृष्णबहादुर महरासँग भेटेकी थिइन् ।

नेकपालाई फेरि जुटाउन सकिने सम्भावनाको खोजी गर्दै आएको टोलीले राजनीतिक र संवैधानिक अन्योलबीच नेपालमा भारत र अमेरिकाको प्रभाव बढ्ला कि भनेर चासो राखेको छ । अढाई वर्षअघि नेपालका दुई कम्युनिस्ट पार्टी एकीकृत भएपछि उत्साही भएको चीन गत साता भएको संसद् विघटन र नेकपा विभाजनबाट चिन्तित छ ।