७ पुष, काठमाडौं । सानेपामा नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक केही बेरअघि सकिएकाे छ । बैठकलाई सम्बाेधन गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको यस गम्भीर संकटको समयमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बताएका छन् ।
आज मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको कदम अधिनायक आकांक्षाको प्रतिरूप भएको बताएका ह्रन् । यस्तै बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेस सशक्त ढंगले अघि बढ्नुपर्ने बताए ।
यता, प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरूसँग कुरा गर्दै कोरोना महामारीको यस्तो गम्भीर संकटको अवस्थामा निर्वाचनमा जाने असुहाउँदो कुरा हुने बताए । उनले भने, ‘जनता कोरोना महामारीका वेला सेतो कात्रो ओढेर घाटतिर जान बाध्य भएका वेला प्रधानमन्त्रीलाई भने रातो झण्डा बोकेर भोट माग्न जाने इच्छा जागृत भएको छ । यो बिल्कुल अमिल्दो विषय हो ।’
साथै उनले अहिलेको अवस्थालाई कांग्रेसले गम्भीर रूपमा लिएको र संयमित भएर संकटबाट मुक्ति दिलाउने विषयमा निर्णय गर्ने बताए । कांग्रेस केन्द्रीय समिति बैठकमा संसद् पुनर्स्थापनाको विषयको पहलमा के गर्ने, निर्वाचनलाई कसरी लिने, संवैधानिक संकटको अवस्था, राजनीतिक रूपमा कसरी प्रतिरोध गर्ने भन्ने विषयमा छलफल भएकाे हाे ।
बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम बाँकी नै छ । केन्द्रीय सदस्यहरूले आफूले चाहेजति समय लिएर बोल्न पाउने व्यवस्था गरिएकाले कांग्रेस केन्द्रीय समिति बैठक केही दिन लम्बिने भएकाे छ ।












