काठमाडौं–५ को विकास प्रदीपको टीमले मात्र गर्न सक्छ – नरहरी आचार्य

काठमाडौँ: नेपाली कांग्रेसका वौद्धिक नेता नरहरी आचार्यले काठमाडौं ५ को विकास प्रदीप पौडेललको टीमले मात्र गर्न सक्ने बताएका छन् ।

आइतबार नेपाल लोकतान्त्रीक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले युवाहरुको टीमलेमात्र विकासको ढोका खुलाउन सक्ने बताएका हुन् ।

‘काठमाडौं ५ मा युवाहरुको बलियो टीम छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘यो टीमले जितेमात्र काठमाडौं ५ मा विकासका ढोका खुल्न थाल्छन् ।’  साथै कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रलाई हुबहु कार्यान्वयन गराउनका लागि पनि प्रदीपले जित्नैपर्ने उनले बताए । ‘कांग्रेसले सार्वजनिक गरेका प्रतिवद्धतालाई पुरा गर्न अब ५ वर्ष प्रदीप जीले घच्घच्याउनुहुनेछ,’ आचार्यले भने ।

अहिले भएको चुनावी गठबन्धन देशलाई संकटबाट बचाउनका लागि भएको उनले प्रष्ट पारे । त्यसैले गठबन्धनप्रति जिम्मेवार रहन कार्यकर्तालाई आग्रहसमेत गरे ।  ‘जब–जब देशलाई संकट पर्छ त्यतिबेला कांग्रेसले नै नेतृत्व गर्दै आएको छ,’ आचार्यले भने, ‘अहिलेको गठबन्धन पनि कांग्रेसले खोजेर भएको होइन त्यस्तै परिस्थितिले उब्जाएको हो । त्यसैले गठबन्धनप्रति सबैजना जिम्मेवार बनौँ ।’

साथै, अहिलेसम्म भएका निर्वाचन कांग्रेसकै नेतृत्वले गर्दै आएको पनि उनले स्मरण गरे । ‘नेपालमा कांग्रेसबाहेक अन्य पार्टीले निर्वाचन गराउन सकेका छैनन्,’ उनले भने, ‘लोकतन्त्रको रक्षा र निर्वाचन गर्नका लागि कांग्रेसकै नेतृत्व चाहिने रहेछ भन्ने प्रमाणित भएको छ ।’

त्यसैले मंसिर ४ गतेको निर्वाचनमा नेपाली कांग्रेसलाई सम्झिएर मतदान गर्न काठमाडौं ५ का मतदातालाई आचार्यले आह्वानसमेत गरे ।

सात वर्षदेखि स्वास्थ्यलाभ गरिरहेका आचार्य लामो समयपछि जनतामाझ साक्षात्कारका लागि उपस्थित भएका हुन् । कार्यक्रममा खेलाडीहरुलाई सम्मान गर्दै खेलाडीको मेहेनतले देशकै गरिमा बढाउने बताए । ‘राष्ट्रको पहिचान गराउने एउटा सशक्त माध्यम खेल नै हो,’ उनले भने, ‘खेलाडीले नै देशको गरिमा बढाउने हुन् ।’

कार्यक्रममा विशेष अतिथिका रुपमा युवा नेता तथा काठमाडौं प्रतिनिधि सभा ५ का उम्मेदवार प्रदीप पौडेल उपस्थित थिए । कार्यक्रममा बोल्दै पौडेलले  खेलकुदमा लगानी बढाएर सबै युवाको खेलकुदमा पहुँच हुने अवस्था सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘हरेक युवालाई खेलकुदसँग जोड्न चाहन्छौँ’, उनले भने, ‘समाजमा बाहुबली नेतृत्व ल्याउने होइन विधिवत प्रतिस्पर्धाले नेतृत्व ल्याउने हो भन्ने मान्यता समाजमा स्थापित गर्नु पर्नेछ । त्यो खेलकुदको माध्यमबाट सम्भव छ ।’

[sidebar name="button post"]