काठमाडौँ : काठमाडौँ क्षेत्र नं. २ (ख)बाट प्रदेशसभातर्फ स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका अशोक खड्का लौरो अभियानमा सहभागि भएका छन् । बिहीबार काठमाडौँमा आयोजित लौरो अभियानको बागमती प्रदेश भेलामा खड्का सहभागी भएका हुन् ।
उनले अब लौरो चुनाव चिन्ह लिएर चुनाव लड्ने भएका छन् । यद्यपी यसको औपचारिकता भने निर्वाचन आयोगबाट स्वीकृति प्रदान भएपछि मात्रै हुनेछ । बिहीबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा खड्काले औपचारिक रुपमै लौरो चुनाव चिन्ह ग्रहण गरेका हुन् । अब देशैभर लौरो चुनाव चिन्हका उम्मेद्वारले एकसाथ चुनावी अभियान थाल्नेछन् ।
यसअघि काठमाडौँका मेयर बालेन शाह, धरानका मेयर हर्क साम्पाङ राई र धनगढीका मेयर गोपी हमालले लौरो चिन्हबाट चुनाव जितेका थिए । स्थानीय तहपछि देशभरि संसदीय चुनावमा लौरो चुनाव चिन्हबाट सयौँ युवाहरुलाई राजनीतिमा उतार्ने लौरो अभियानका संयोजक सुमन सायमी बताउँछन् । सोही योजनाअनुसार गण्डकी, लूम्बिनी र बागमतीमा प्रदेशस्तरका लौरो अभियानका कार्यक्रम सम्पन्न भएका छन् ।









