Ad #144479

२ वैशाख, पोखरा । प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी पूरा हुन नसकेपनि गण्डकी प्रदेश सरकारविरुद्ध भने प्रतिपक्षी दलहरु तयार भएका छन्, तर हिजो राति नै प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याउने नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा पार्टी तयार भएलगत्तै प्रदेश सभा अधिवेशन नै अन्त्य गरिएको हो । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्दै आज अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको थियो । तर हिजै राति हठात् अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश सभा अन्त्य भएको सूचना आज बिहान साढे १० बजे प्रदेश सभा कार्यालयमा पुगेको छ । सरकारविरुद्धको प्रस्ताव पारित हुने निश्चित भएपछि सरकारले डराएर अधिवेशन अन्त्य गरेको हो । गएको चैत २५ गतेबाट अधिवेशन सुरु भएको हो । नियमित प्रस्तावमाथि नै छलफल गर्न बाँकी रहेका बेला अकस्मात् अधिवेशन अन्त्य गरेर सरकारले अविश्वास प्रस्ताव छल्न खोजेको देखिन्छ ।