चारजना पूर्वप्रधान न्यायाधीशहरूले लिखित जवाफ पेस गरे

३ फागुन, काठमाडाैं । सर्वोच्च अदालतमा चारजना पूर्वप्रधान न्यायाधीशहरूले लिखित जवाफ पेस गरेका छन् । अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन पूर्वप्रधान न्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सोमबार मध्यान्ह सर्वोच्च अदालत पुगेका हुन् ।

अदालतमा विचाराधीन विषयमा चारजना पूर्वप्रधान न्यायाधीशहरूले विज्ञप्ति जारी गरेर प्रभावित गर्न खोजेको भन्दै उनीहरूविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । सर्वोच्चले उनीहरूले आफैं उपस्थित भएर आज लिखित जवाफ बुझाएका हुन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त वक्तव्य जारी गरेपछि चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलनाको मुद्दा परेको थियो । त्यसमा प्रारम्भिक सुनुवाइ गर्दै १५ माघमा न्यायाधीश मनोज शर्माको इजलासले बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

यस्तै अदालतमा भइरहेको बहसलाई ‘तमासा’ भनेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई पनि आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न पनि आदेश दिइएको थियो ।

अदालतको आदेशबारे जानकारी गराउन सर्वोच्च अदालतले तामेलदार खटाएको थियो । तर अहिलेसम्म तामेलदार कतै पनि पुगेका छैनन् । तामेलदार नआएपछि चार पूर्वप्रधानन्यायाधीश आफैं अदालतमा उपस्थित भएर म्याद बुझेका हुन् । म्याद बुझेलगत्तै लिखित जवाफ पनि पेश गरेका हुन् ।