चलचित्रको छायांकन धमाधम, हलमा सानो संसार र कबड्डी ३’ रिलिज

३ फागुन, काठमाडौं । कोरोना भाइरसका कारण १० महिनासम्म बन्द भएका फिल्म हल खुलेपनि अहिले चलचित्रको चरम अभाव देखिएको छ । हल संचालनमा आएको एक महिना भन्दा बढी समय भएपनि निर्माताले चलचित्र रिलिजका लागि उत्साह देखाएका छैनन् ।

नेपाल सरकारले पौष २६ गतेबाट हल सुचारु गर्न अनुमती दिएपछि यतिबेला चलचित्रको छायांकन धमाधम भएपनि रिलिजका लागि भने निर्माता उत्साहित नदेखिएका हुन् ।

यसैले पनि यतिबेला हलमा धमाधम पुराना नेपाली चलचित्र रिलिज भैरहेका छन् । माघ १ गतेबाट चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएपनि यसले कुनै चमत्कार गर्न सकेन । यसपछि, साउथको हिन्दी डब चलचित्र ‘मास्टर’ रिलिज भयो । यसले पनि नेपाली बक्स अफिसमा उत्साह थपेन ।

यसैले, हल संचालकहरुले पुराना चलचित्र पुनः रिलिज गरेका छन् । भ्यालेन्टाइन डेको अवसरमा १३ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘सानो संसार’ पुनः रिलिज गरिएको छ । यस्तै, गतबर्षको हिट चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ पनि हलमा फेरि रिलिज गरिएको छ ।

चैत्रको २७ गते अगाडि कुनै पनि नयाँ चलचित्र रिलिज हुने छैनन् । यसैले, हल व्यवसायीले पुरानै नेपाली चलचित्र चलाएर हल संचालन गर्नुपर्ने देखिन्छ । तर, अप्रिलको २ तारिखबाट हिन्दी चलचित्र ‘सूर्यवंशी’ रिलिज हुने भएपछि यसले केही उत्साह प्रदर्शकलाई थप्ने देखिन्छ ।