मलाई पक्राउ गर्न पक्राउ पूर्जी लिएर आउनु : झाँक्री

२९ माघ, काठमाडौं । भाषणकै आधारमा नेतृ रामकुमारी झाँक्रीमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । महानगरीय अपराध महाशाखाका अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार अनुसन्धानका लागि कार्यालय बोलाएको थियौँ तर उनी समयमै नआएपछि प्रहरीलाई सादा पोशाकमै उनको घरमा पठाएका हुन् ।

राष्ट्रपति बिद्यादेवी भण्डारीको आलोचना गरेको भाषणलाई आधार बनाएर उनीमाथि प्रहरीले अनुसन्धान थालेको हो । केही दिनअघि प्रधानमन्त्री केपी ओली समुह निकट महिला नेतृहरूले झाँक्रीविरुद्ध गृह मन्त्रालयमा दिएको निवेदनलाई अनुसन्धानको आधार बनाइएको छ । गृह मन्त्रालयकै निर्देशनका आधारमा महाशाखाले नेतृमाथि अनुसन्धान गर्न लागेको हो ।

यता , नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी छिन् । प्रहरीले आफूलाई सोधपुछका लागी बोलाए पनि झाँक्रीले त्यो स्वीकार गर्दै भनिन, “मलाई पक्राउ गर्न पक्राउ पूर्जी लिएर आउनु ।राजनीतिक मुद्दा हो । सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं ।”