भ्रष्टाचार र अनियमितता नै राष्ट्र निर्माणको प्रमुख बाधक : राई

२८ माघ,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालमा भ्रष्टाचार र अनियमितताको घटना चुनौतीपूर्ण देखिएको बताएका छन् । उनले सामाजिक निकाय तथा सार्वजनिक सेवा क्षेत्रमा हुने भ्रष्टाचार र अनियमितता नै राष्ट्र निर्माणको प्रमुख बाधक भएको बताएका हुन् ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औ वार्षिकोत्सव तथा स्थापना दिवसको अबसरमा प्रमुख आयुक्त राईले यस्तो धारणा राखेका हुन् । राजनीतिक परिवर्तनसँगै मुलुकले नयाँ संविधान पाएसँगै विभिन्न विकास निर्माणका कामहरु भएपनि भ्रष्टाचार तथा अनियमितताका घटनाहरु अझै नरोकिएको उनले बताएका छन् ।

उनले भने ‘सार्वजनिक भूमि व्यवस्थापन नेपालको सन्दर्भमा चुनौतीपूर्ण देखिएको बताएका छन् । त्यस्तै सरकारी सार्वजनिक जमिन अतिक्रमण गर्ने, खोला-खोल्सा तथा पर्ति जमीन ओगट्ने कार्य सह्य नहुने पनि उनले बताए ।

त्यस्तै राईले सार्वजनिक पदाधिकारी वा उनीहरूसँग जोडिएका जोसुकैलाई अनुसन्धान गर्ने र रोक्ने कार्य आयोगको प्राथमिकतमा राखेको बताएका छन् । औषधिलगायतमा भएका भ्रष्टाचार सम्बन्धी थुप्रै उजुरी आयोगमा दर्ता भएको र त्यसलाई प्राथमिकता दिएर घुसखोरी र विचौलियालाई निगरानी गर्न विशेष टोली खटाइने पनि उनले बताएका छन् ।