चितवनको आकाशेपुलमा बम भन्दै ढुंगा भेटिएपछि

७ मंसिर, चितवन । चितवनको आकाशेपुलमा बम भन्दै ढुंगा भेटिएको छ । बम भनेर त्रसित पारेको घटनामा डिस्पोज गर्न जाँदा ढुंगा हात लागेको हो । रत्ननगरस्थित टाँडी बजारमा निर्माणाधीन आकाशेपुलमा शंकास्पद वस्तु भेटिएको थियो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको ब्यानरसहित बिहान शंकास्पद वस्तु भेटिएपछि त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाअनुसार डिस्पोजका क्रममा बम जस्तो देखिनेगरी झोलामा ढुंगा राखेर तार जोडिएको पाइएको हो ।

शंकास्पद वस्तुसँगै भेटिएको ब्यानरमा सातौं पार्टी पुनर्गठन दिवस भव्यताका साथ सफल पारौं लेखिएको थियो। साथमा हसिया हथौडा अंकित झण्डा पनि भेटिएको छ ।

बम भन्दै ढुंगा हात लागेपनि पार्टीको ब्यानर र नारा लेखिएपछि त्यो विप्लवकै करामत हुन सक्ने भन्दै प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

[sidebar name="button post"]