Ad #144479

राप्ती नदीले बगाएर आज एउटा गैँडा मरेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाट नजीक नदीमा आज मृतावस्थामा गैँडा फेला परेको हो ।

करीब १५–२० वर्षको पोथी गैँडा नदीमा मृत भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटले जनाउनु भयो। मेघौली नजीक राप्ती नदीमा बाढी घट्दै गएपछि गैँडा देखिएको प्रारम्भिक अनुमान गरिएको रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार नदीमा रहेको गैँडालाई बाहिर ल्याएर परीक्षण गर्ने तयारी गरिएको छ ।

यसअघि २०७४ सालमा आएको बाढीका कारण बगाएका १३ वटा गैँडा उद्धार गरिएको थियो । त्यतिबेला राप्ती र नारायणी नदीको बाढीले वन्यजन्तु बगाएर कतिपय मरेका थिए ।

यस वर्ष प्राकृतिक कारणले गैँडा मरेको यो पहिलो हो । गत आर्थिक वर्षमा निकुञ्ज र राष्ट्रिय वनमा प्राकृतिक कारणबाट २६ वटा गैँडा मरेका थिए ।