२७ साउन, काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनता समाजवादी पार्टी नेपाल जसपाले प्रधानमन्त्रीप्रति प्रयोग गरेको भाषा निन्दनीय रहेको बताउनुभएको छ । उहाँले आज प्रेस नोट जारी गर्दै जसपाले सोमबार निकालेको विज्ञप्तिमा प्रयोग भएका भाषा आपसि हित र सम्वन्धमा दखल पुराउने स्थरको भएको बताउनुभएको छ ।
जसपाले प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्ति निकाली “केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको ” भनी गरेको टिप्पणी अशिष्ट र पूर्वाग्रही तथा अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको बताउनुभएको छ । पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका तथा आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउने संलग्न दलबाट यसस्तरको टिप्पणी आउनु कुण्ठाग्रस्त गालीगलोज र दिवालियापन मात्र भएको उहाले उल्लेख गर्नुभयो ।
उहाले भन्नुभयो“राजनीतिक दलले आफ्ना धारणा र विमति प्रष्ट्याउने गरी सरकारको आलोचना र विरोध गर्न सक्दछन्”, उहाँले जारी गर्नु भएको प्रेस नोटमा भनिएको छ, “ तर राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्ध प्रयोग गरिने अपमानजनक, तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भाषाप्रति गम्भीर आपत्ति प्रकट गर्नैपर्छ, जो सभ्य समाजको मूल्य र मानक विपरीत रहेका छन् ।”












