कृषकलाई कृषि पेशामा प्रोत्साहन गर्न तनहुँको भिमाद नगरपालिकाले परिचयपत्र प्रदान गर्ने भएको छ । व्यावसायिक कृषकको पहिचान गरी कृषिलाई व्यावसायिक गर्न नगरपालिकाले कृषकलाई परिचयपत्र प्रदान गर्न लागेको हो ।
नगरपालिकाले चालू आर्थिक वर्ष ०७७÷७८ को नीति तथा कार्यक्रममा कृषकलाई परिचयपत्र वितरण गर्ने उल्लेख गरेको छ । व्यावसायिक रुपमा कृषि पेशा अङ्गालेका कृषकलाई पहिचानका लागि परिचयपत्र वितरण गर्न लागिएको नगरप्रमुख मेखबहादुर थापाले जानकारी दिनुभयो । त्यसका लागि नगरपालिकाले नौवटा वडामा रहेका कृषकको तथ्याङ्क सङ्कलन गर्नेछ ।
कृषकलाई परिचय वितरण गरेपश्चात् कृषि लक्षित कार्यक्रममा अनुदानलगायत सहयोग गर्न सहज हुने विश्वास गरिएको नगरप्रमुख थापाले बताउनुभयो । उहाँका अनुसार कृषकलाई पूँजी अभाव हुन नदिन व्यावसायिक कृषकलाई सहकारीमा आबद्ध गर्ने नीति अवलम्बन गरिएको छ ।
जैविक विविधताको संवद्र्धन र सदुपयोग गर्दै जलवायु परिवर्तन अनुकूल प्रविधिको विकास गरी कृषिजन्य उत्पादनमा प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने, पशु उत्पादकत्व वृद्धि गर्न नस्ल सुधारका लागि कृत्रिम गर्भाधान तथा उन्नत ब्याड वितरण गर्ने कार्यलाई प्राथमिकतापूर्वक सञ्चालन गरिने नगरप्रमुख थापाले बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले कृषि विकास, पशु विकास, दूध उत्पादन तथा सहकारीको प्रवद्र्धन र विकासका लागि नवीन प्रविधि सम्भाव्य बस्तीको पहुँचमा ल्याउन सहकारी तथा कृषक समूहलाई संस्थागत विकास र व्यावसायिक तालीम प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
कोभिड–१९ का कारण रोजगारी गुमाएका, विदेश जान रोकिएका र विदेशबाट फर्किएका व्यक्तिको श्रम, पूँजी, सीप र रुचिका आधारमा कृषि, पर्यटन, उद्योग तथा सेवा क्षेत्रमा आवश्यकताअनुसार रोजगारी प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने थापाले बताउनुभयो ।
नगरपालिकाले नगर क्षेत्रलाई विभिन्न वस्तुको पकेट क्षेत्र तथा स्रोत केन्द्रका रुपमा विकास गर्ने गरी कार्य अगाडि बढाएको छ । भिमाद नगरपालिका–९ को भानुमतीमा सञ्चालित मुख्यमन्त्री वातावरण मैत्री नमूना गाउँमा प्रदेश सरकारको सहयोगमा चिस्यान केन्द्र, उच्च प्रविधिको नर्सरीलगायत पूर्वाधार निर्माण भइरहेको छ ।